Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सामाजिक कार्य शिक्षालाई व्यवहारमुखी बनाउन जोड

उद्‌घोष संवाददाता
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । विश्वविद्यालय तहमा अध्यापन हुने सामाजिक कार्य (बीएसडब्लू र एमएसडब्लू)  को अभ्यास शिक्षालाई प्रभावकारी, व्यवस्थित र बजारको मागअनुसार व्यवहारमुखी बनाउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय, कला, कानुन तथा शिक्षा संकाय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस, विराटनगरद्वारा बुधबार आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी सरकारी, गैरसरकारी, प्राज्ञिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले यस्तो साझा निष्कर्ष निकालेका हुन् ।

नेपालमा सामाजिक कार्यको व्यावहारिक शिक्षालाई सशक्तिकरण गर्ने लक्ष्यका साथ युरोपेली संघको सह–वित्तीय सहयोगमा सञ्चालित ‘ईएसडब्लूपीईएन’ परियोजनाअन्तर्गत आयोजित सो विमर्शमा सामाजिक कार्यलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी समुदायका वास्तविक समस्या पहिचान र समाधान गर्न सक्ने दक्ष पेशागत जनशक्ति उत्पादनमा केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरियो ।


छलफलका क्रममा सहभागीहरूले सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरूलाई अस्पताल, विद्यालय, स्थानीय तह, सामाजिक संस्था, बाल संरक्षण, महिला तथा ज्येष्ठ नागरिक सेवा एवं विपद् व्यवस्थापन जस्ता संवेदनशील क्षेत्रहरूमा प्रत्यक्ष फिल्ड अभ्यासको पर्याप्त अवसर प्रदान गरिनुपर्ने बताए ।

सोका लागि विश्वविद्यालय र अभ्यास गराउने संस्थाहरूबीच निरन्तर समन्वय हुनुपर्ने, फिल्ड सुपरभाइजरहरूको क्षमता अभिवृद्धि गरिनुपर्ने तथा विद्यार्थीहरूको कार्यक्षेत्र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक र पारदर्शी बनाउँदै शिक्षालाई रोजगारीसँग जोड्नुपर्नेमा विशेष विमर्श भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले सामाजिक कार्यअन्तर्गत स्नातक (बीएसडब्लू) र स्नातकोत्तर (एमएसडब्लू) तहको शिक्षालाई व्यवहारोपयोगी र रोजगारीमूलक बनाउन विश्वविद्यालय निरन्तर लागिपरेको बताए ।

त्यसैगरी संकायका पूर्व डीन प्राडा कोमल दुलालले समयानुकूल र बजारको आवश्यकताअनुसार सामाजिक कार्यको पाठ्यक्रम परिमार्जन गरिँदै आएको जानकारी दिए ।

कार्यक्रम संयोजक तथा सामाजिक कार्य विषयका शिक्षक  पुकार चाैधरीले सरोकारवालाहरूबाट प्राप्त महत्वपूर्ण सुझावहरूलाई मनन गरी आगामी दिनमा अभ्यास शिक्षालाई थप प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी, जनता क्याम्पसका  पूर्व प्रमुख महेश निरौला, समाजशास्त्री  सुजन विष्ट,  विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, प्रहरी निरीक्षक बद्री दाहाल, मनिता भण्डारी, दुर्गा बराल, गीताञ्जली शर्मा, विष्णु खनाल, रिकेश निरौला तथा प्रतिभा थापालगायत शिक्षाविद्, सामाजिक अभियन्ता र विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

View : 222

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved