विराटनगर । मोरङ नेपालको बैङ्किङ क्षेत्रको सम्पूर्ण इतिहास र विकासक्रमलाई समेटेर खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले आफ्नो नयाँ खोजमूलक कृति ‘नेपालको बैङ्किङ इतिहास’ बजारमा ल्याएका छन् । मोरङ, पथरी शनिश्चरे–१ निवासी तिम्सिनाको यो १४ औं कृति हो । उनले विगत एक दशकदेखि निरन्तर खोजमूलक पुस्तक लेखनमा सक्रिय छन् ।
बैंकलाई केवल मुद्रा राख्ने थलो नभएर अर्थतन्त्रको मुख्य अंग मान्ने तिम्सिनाको यो पुस्तकले राणाकालदेखि वर्तमानसम्मको नेपालको ८८ वर्ष लामो बैङ्किङ यात्रालाई मिहिन गरी प्रस्तुत गरेको छ । २७२ पृष्ठको यस पुस्तकमा ५१ वटा फरक विषयहरू समेटिएका छन् ।
नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालमा वेलायतबाट फर्केर बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंहको भूमिका र बैङ्किङ क्षेत्रका अगुवा बीके श्रेष्ठको योगदानसहितको ऐतिहासिक विवरण छ ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेरदेखि वर्तमान कार्यवाहक गभर्नर विश्वनाथ पौडेलसम्मका १८ जना गभर्नरहरूको फोटोसहितको जीवनी पुस्तकमा छ ।
नेपाली बैङ्क गाभ्ने इतिहास, द्वन्द्वकालमा बैंकमा भएका आक्रमणका घटना र चिनियाँ ह्याकरले मच्चाएको लुटपाटको खोजी लगायतका सङ्कट र मर्जर (गाभ्ने) सम्वन्धी विवरण पनि सो पुस्तकमा छ । कानुनी र संरचनागत पक्ष अन्तर्गत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुन, समस्याग्रस्त बैंकहरू र खारेज भएका बैंकहरूको सूची पनि दिइएको छ ।
समसामयिक र सामाजिक विषय अन्तर्गत बैङ्किङ क्षेत्रमा महिला सहभागिता (डेपुटी तथा कार्यवाहक गभर्नर डा नीलम ढुङ्गाना तिमिल्सिना सहित), विपत्तिमा बैंकको सहयोग र जेनजी आन्दोलनका क्रममा नेपाली बैंकमा भएको क्षतिको विवरण दिइएको छ ।
प्राचीन मुद्रा अन्तर्गत लिच्छविकाल देखिका मुद्राहरूको खोजी र भोजपुरको टक्सारको इतिहास समेटिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष दिनेश कोइरालाले पुस्तकलाई शुभकामना दिंदै नेपाली बैङ्किङ इतिहास बुझ्न यो पुस्तक महत्वपूर्ण सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।
झापाको दमकस्थित स्रष्टा छापाखानाले छापेको सो पुस्तकका प्रकाशक लीला निरौला हुन् । यसअघि तिम्सिनाका ‘माइखोलादेखि पुनर्वाससम्म’ (भुटानी शरणार्थीको कथा), ‘धिमाल जातिको इतिहास’, ‘इतिहासमा पथरी शनिश्चरे’ र ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ जस्ता चर्चित कृतिहरू प्रकाशित छन् ।
View : 303
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved