Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

'एक्स्पो अवलोकन गर्न आउनेहरुले ४ देखि ५ घण्टा बितेको पत्तै पाउँदैनन्'

उद्घोष सम्वाददाता
८ पुष २०८०, आइतवार

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा सुरु भएको मोरङ व्यापार संघ (एमबीएस) एक्स्पो–२०२३ मा अवलोकनकर्ताहरुको भिड बढ्दै गएको छ । विराटनगर-२ शंकरपुर मार्गमा सबै तयारी पुरा गरेर एक्स्पो भव्य समारोहका बीच उद्‍घाटन समेत भइसकेको छ ।

कोशी प्रदेशमा आर्थिक गतिविधिलाई चलायमान बनाउने र विराटनगरबासीलाई उत्साह थप्ने उद्देश्यले विभिन्न प्रकारका साँस्कृतिक प्रस्तुतिसहितका कार्यक्रम एक्स्पोमा भइरहेका छन् । यस एक्स्पोमा उन्नत जातका माछाका भुरादेखि मुर्रा भैंसीसम्म प्रदर्शनीमा राखिएको एक्स्पो आयोजक समितिले जनाएको छ । यसै सन्दर्भमा एक्स्पो मुल आयोजक समिति संयोजक एवं मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहसँग गरेको कुराकानी :

मोरङ व्यापार संघ एक्स्पो’ कस्तो भइरहेको छ  ?

शुक्रबारबाट शुरु भएको एक्स्पोमा अवलोकनकर्ताहरुको उत्साहपूर्ण उपस्थिति देखिन थालेको छ । एक्स्पोको स्टल राख्ने कामदेखि आइफिल टावर पनि सबै निर्माण भइसकेका छन् । आकर्षक गेट राखिएको छ । हरेक दिन बेलुका कलाकारहरुले गीतसंगीतका माध्यमबाट मनोञ्जन दिंदै आउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गरेपछि अहिले एक्स्पो भव्यताका साथ चलिरहेको छ ।

विगतका भन्दा यस पटकको एक्स्पोमा फरक के रहन्छ ?

यस पटक एक्स्पो अवलोकन गर्न आउनेहरुले छुट्टै रमाइलो गर्नेछन् । एक्स्पोभित्र आइफिल टावरको नमुना छ । यो आइफिल टावर ७० फिट अग्लो छ । यो संरचना विराटनगरबासीहरुका लागि पनि आफैंमा नौलो हो ।

आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भिड लागेको छ । सेल्फी स्ट्यान्डहरु पनि राखिएका छन् । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरुले निर्धक्क भएर फोटो खिच्न पाउँनेछन् । चिल्ड्रेन पार्कमा बच्चाहरुलाई रमाउने अवसर छ । जहाँ मेलामा आउने साना बालवालिकाहरुले दिनभरी रमाइलो गर्ने वातावरण हामीले बनाएका छौं ।

मेला अवलोकनको लागि आउनेहरूको सुरक्षाको लागि गार्ड राखिने छ । चिल्डेन पार्कमा आउने बालबालिकाहरुको हेरचारको लागि पनि छुट्टै सुरक्षा गार्ड छन् । मेलामा आउने सबैको सुरक्षाको ग्यारेन्टी हामीले गरेका छौं । मेला अवलोकन गर्न आउने मानिस ४ देखि ५ घण्टा बितेको थाहै नपाउने गरीको स्टलहरु एक्स्पोमा छन् । 

उत्कृष्ट परिकारहरुसहितको फुड जोनमा आकर्षण देखिएको छ । यहाँ खानाको परिकारहरु सबै छ । ननभेज र भेजका खाद्यवस्तुहरु छन् । एक्स्पो लागुन्जेलसम्म उपभोक्ताहरु बजार जानु नै पर्दैन । एक्स्पोभित्र सम्पूर्ण वस्तुहरु पाइन्छ । त्यो पनि सरल र सस्तो मूल्यमा पाइन्छ । मेला प्रवेश गरेपछि घरमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु यहाँ पाइन्छ । त्यसैले गर्दा घरायसी सामानहरु खरिद गर्न उपभोक्ता बजार जानु पर्ने अवस्था नै आउँदैन । त्यसको साथै मेलामा आउनेहरुलाई छुट्टै रमाइलो प्रदान गर्नको लागि हामीले थप मनोरञ्जनको कार्यक्रमहरु पनि राखिएको छ ।

दैनिक दिउँसो २ बजेदेखि राति ९ बजेसम्म रमाइलो कार्यक्रमहरु हुनेछ । एक्स्पोमा फेशन शो, गायन र नृत्य प्रतियोगिताहरु छन् । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । यो विद्यार्थीहरुको लागि ठूलो अवसर पनि हो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । यसका साथै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतिले थप मेला आकर्षण रहनेछ । दैनिक चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिहरु भइरहेका छन् ।

मन्दीका कारण व्यापार नभएको गुनासो एकातर्फ छ, अर्कोतर्फ एक्स्पोमा आउने उपभोक्तालाई कसरी सुविधा पाइरहेका छन् ?

मुख्य कुरा भनेको व्यापार प्रवर्धन गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको हो । व्यवसाय सुस्ताएको अवस्था छ । व्यापार व्यवसायलाई अगाडि बढाउन एक्स्पो गरिएको हो । अहिलेको आर्थिक मन्दीमा पनि हामीले जोखिम मोलेर स्थानीय उद्योगले उत्पादन गरेको वस्तुहरु प्रवर्धन गर्ने उद्देश्यले मेला गर्दैछौं ।

मोरङ व्यापार संघले ठूलो जोखिम मोलेर एक्स्पो आयोजना गरिएको छ । त्यसमा पनि उद्योगी, व्यवसायीले उत्पादन गरेको वस्तुको प्रवर्धन गर्न एक्स्पो आयोजना गरिएको हो । अहिले जाडोको महिना पनि सुरु भएको छ । विराटनगरमा रमाइलो गर्ने ठाउँ पनि छैन ।

त्यसैले गर्दा पनि हामीले मनोरञ्जन दिन पनि एस्क्पो आयोजना गरिएको हो । बजार सुस्ताएको बेला आयोजना गरिएको एक्स्पोमा सस्तो मूल्यमा सामानहरु पाइने भएकोले अहिले ठूलो आकर्षण देखिएको छ ।

एक्स्पोको विशेष आकर्षण के छन् ?

एक्स्पोमा विशेषगरी स्वदेशी उत्पादन साथै विदेशीमा पनि पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एकै थलोमा अवलोकन गर्दै खरिद गर्न सकिने छ ।

सामान्यदेखि इटहरीको पाँचतारे सोल्टी होटलको खाना खाने स्टलसमेत एक्स्पोमा रहने छ । एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको उपभोक्ताले भरपुर फाइदा उठाउन सक्नेछन् ।

एक्स्पोमा स्टलको संख्या कति रहने छ ?

एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानका पनि स्टल रहनेछ । स्वदेशी र विदेशी गरी २ सय ४० भन्दा बढी स्टल रहने र एक्स्पो अवधिभर ११ दिन चल्नेछ ।

एक्स्पोमा अवलोकनकर्ता र कारोबारको अपेक्षा के छ ?

समयभन्दा अगाडि नै स्टलहरु बुक भइसकेका कारण अहिले सबै स्टलहरु भरिएका छन् । स्टल थप गर्नुपर्ने अवस्था आएकाले माग अनुसार हामी केही स्टलहरु पनि थपेका छौं । जसका कारण एक्स्पोमा अवलोकन गर्ने दर्शक र कारोबारको संख्या पनि बढ्ने हामीले अनुमान गरेका छौं ।

४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढी उपभोक्ताले एक्स्पोको अवलोकन गर्ने र सो अवधि भरमा १० करोड भन्दा बढी रुपैयाँको कारोबार हुने अपेक्षा राखेका छौं ।

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved