Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

हितेन्द्रको कुरा सुनेर उद्योगी उत्साही

‘हामी विद्युत नियमित छैन भन्थ्यौं, प्राधिकरण होइन भन्थ्यो भनेर हामीले शाक्यजीलाई समस्या सुनायौं’, राठीले भने ‘उद्योगहरूलाई थोरै भए पनि प्रिभिलेज दिन र डेडिकेटेड लाइनको विवाद अन्त्यका लागि पनि प्राधिकरणले काम गरोस् ।’
उद्‌घोष सम्वाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट बाह्रै महिना चौबीसै घण्टा २५० मेगावाट विद्युत आयात गर्ने सम्झौताको तयारी भइरहेको बताएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग  बिहीबार विराटनगरमा छलफल गर्दै शाक्यले यस्तो जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक शाक्यलाई सामुमा राखेर उद्योगीहरूले औद्योगिक करिडोरमा अघोषित लोडसेडिङले सताएको बताएका थिए ।

‘यहाँहरूको समस्याबारे प्राधिकरण जानकार छ, हामी भारतबाट २५० मेगावाट विजुली बाह्रै महिना, चौबीसै घण्टा आयात गर्ने एग्रीमेन्टको तयारीमा छौं,’ शाक्यलाई उद्धृत गर्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने ‘त्यसपछि यो समस्या केही कम भएर जानेछ भन्ने उहा“को कुरा छ ।’

अध्यक्ष राठीले दिएको जानकारी अनुसार कार्यकारी निर्देशक शाक्यले चाहिएका बेला मात्रै भारतबाट आयात गर्ने गरिएका कारण समस्या रहेको बताएका थिए । 

शाक्यसँगको छलफलमा उद्योगीहरूले सुख्खा याममा दैनिक १० घण्टासम्म अघोषित लोडसेडिङको मार खेप्नु परेको बताउँदै यसले उत्पादन घट्ने र लागत बढ्ने समस्या बेहोर्नुपरेको बताएका थिए ।

‘जतिबेला उद्योगहरूलाई विद्युत चाहिएको हुन्छ, त्यसबेला दैनिक १० घण्टासम्म उद्योगहरूमा लोडसेडिङ हुने गरेको छ,’ नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले भने ‘अब बर्खा लाग्यो, व्यापार पनि घट्यो अनि चाहिं विद्युत आपूर्तिमा सुधार हुन्छ । यो क्रम सुधारका लागि प्राधिकरणले ठोस पहल गरोस् ।’

राठीले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूले सधैं लोडसेडिङको मार खेप्नुपरेको तर प्राधिकरणले त्यसलाई कहिल्यै विश्वास नगरेको बताएका थिए ।

‘हामी विद्युत नियमित छैन भन्थ्यौं, प्राधिकरण होइन भन्थ्यो भनेर हामीले शाक्यजीलाई समस्या सुनायौं’, राठीले भने ‘उद्योगहरूलाई थोरै भए पनि प्रिभिलेज दिन र डेडिकेटेड लाइनको विवाद अन्त्यका लागि पनि प्राधिकरणले काम गरोस् ।’

उद्योगीहरूका अनुसार डेडिकेटेड ट्रङ्क लाइन विवादबारे पनि कार्यकारी निर्देशक शाक्यले यसपटक सजिलो कुरा गरेका छन् । 

‘यो बारे सबैले आ–आफ्नो पक्षको कुरा गरिरहेका छौं, गरिन्छ नै,’ शाक्यलाई उद्धृत गर्दै अध्यक्ष राठीले भने ‘यसमा कि समितिले केही निर्णय दिनुपर्‍यो, कि तपाईंहरूलाई चित्त नबुझे अदालत जानुपर्‍यो ।  जसरी हुन्छ यो विवाद अन्त्य गर्नुपर्छ भन्नेमा हामी छौं ।’

प्राधिकरणले बिहीबार मात्रै बढी विद्युत खपत गर्ने सुनसरी मोरङ औद्योगिक करिडोरका १० जना उद्योगीहरूलाई सम्मान समेत गरेको छ ।

प्राधिकरणले विगतमा उद्योगीहरूलाई सधैं सताएको आरोप लगाउँदै उनीहरूले प्राधिकरणले सम्मान गर्नु सकारात्मक भएको बताएका थिए ।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक दीर्घायू श्रेष्ठ, कोशी प्रदेश प्रमुख निर्देशक राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोजकुमार लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायतको सहभागिता थियो ।

View : 142

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved