Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सरकारले सेवा बन्द गरेको समयमा धमाधम सवारी दर्ता

‘सेटिङ’ मा काम भएको हुनसक्ने आशंका गर्दै मन्त्रालयले कार्यालय प्रमुखसँग प्रष्टीकरण माग गरेको छ ।
उद्‌घोष संवाददाता
९ असोज २०८२, बिहिवार

विराटनगर । सरकारले सेवा बन्द गरेका बेला यातायात कार्यालयले धमाधम नया“ सवारी दर्ता गरेको सूचना पाएपछि कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै यातायात कार्यालयसँग जवाफ मागेको छ । 

मन्त्रालयले बुधबार प्रदेशका तीन वटा यातायात कार्यालयलाई पत्र पठाएर बिहीबार कार्यालय समयभित्र जवाफ पठाउन भनेको हो । 

मन्त्रालयले यातायात व्यवस्था कार्यालय, सवारी, सुनसरी, यातायात व्यवस्था कार्यालय, विर्तामोड, झापा र यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, सुनसरीलाई पत्र लेखेर बिहीबारसम्ममा जवाफ माग गरेको हो ।

‘२०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा तहाँ कार्यालयहरूमा तोडफोड तथा आगलागी भई कार्यालय भवन, फर्निचर, इन्टरनेटसमेत नष्ट भई सेवा सञ्चालन पूर्णरूपमा अवरूद्ध भएको बेहोरा अवगत नै छ’, मन्त्रालयले कार्यालयहरूलाई प्रेषित गरेको पत्रमा भनिएको छ ‘यस्तो अवस्थामा मिति २०८२।०५।२५ पछि पनि केही सेवाहरू सञ्चालन भइरहेको भन्ने जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा भएको सत्यतथ्य बेहोरा पछिसम्म फरक नपर्ने गरी तपशिलको विषयमा केन्द्रित रही मिति २०८२।०६।०९ गते कार्यालय समयभित्र पठाउन हुन मन्त्रालयको मिति २०८२।०६।०८ को निर्णयानुसार अनुरोध छ ।’

मन्त्रालयले ती कार्यालयहरूलाई केही प्रश्नहरू सोधेको छ । जसमध्ये ‘जेनजी आन्दोलन पछि कार्यालयहरूले प्रदान गर्ने कुनै पनि प्रकारको सेवा सञ्चालन भए नभएको, यदि सेवा सञ्चालन भएको भए कुन कुन सेवा सञ्चालन गरिएको, त्यस्तो सेवा सञ्चालन गर्न के कस्तो निर्णय गरिएको वा आदेश प्राप्त भएको हो सोको प्रमाणसमेत पेस गर्न मन्त्रालयले भनेको छ ।

त्यस्तै सेवा सञ्चालन गर्न कुन–कुन कर्मचारीलाई जिम्मेवारी प्रदान गरिएको हो, जिम्मेवारी प्रदान गरिएको पत्रको प्रतिलिपि उपलब्ध गराउन भनिएको छ । 

सो सेवा कार्यालयको कुन कार्यकक्ष वा स्थानबाट सञ्चालन भएको भन्दै मन्त्रालयले  सेवा सञ्चालन गर्दा युजर आईडी  प्रयोग भएको भए कुन कुन युजर आइडी प्रयोग भएको हो त्यसको प्रयोगकर्ताको नाम र पद खुलाउन पनि भनिएको छ । 

यातायात व्यवस्था कार्यालय सवारी सुनसरीले धमाधम नयाँ गाडी दर्ता गराएको खबर आएपछि मन्त्रालयले पत्राचार गरेको मन्त्रालयले जानकमारी दिएको छ । 

उक्त कार्यालयका प्रमुख बाबुराम लुइँटेल हुन् । उनले नयाँ सवारी दर्ता गराएको सूचना मन्त्रालयले पाएको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको भदौ २४ को तोडफोडपछि प्रदेश सरकारले तत्कालका लागि यातायात कार्यालयका कामहरू रोकेको थियो ।

यसबारे कार्यालयहरूलाई लिखित निर्देशन दिएको थियो । तर, मन्त्रालयको निर्देशन विपरित यातायात कार्यालयले सवारी दर्ता गराएको खबर मन्त्रालयले पाएको थियो । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय वटा चार पाङ्ग्रे र दुई पाङ्ग्र्रे सवारी साधन दर्ता भएको छ । 

मन्त्रालयका अनुसार नयाँ सवारी दर्ता गर्न बैंकमा राजस्व जम्मा भए पनि सवारी कार्यालयले सफ्टवेयरबाट अनुमति दिनु पर्छ ।

नयाँ सवारी दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारी कोशीको युजर आईडी प्रयोग भएको देखिएको मन्त्रालयले जनाएको छ ।

View : 395

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved