विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले गर्ने गठबन्धनका कारण राजनीतिमा महिलाको प्रतिनिधित्व घटेको बताएकी छन् ।
शुक्रबारदेखि विराटनगर महानगरपालिकाको संयोजनमा सुरु भएको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको दुई दिने सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको प्रतिनिधित्व बढाउने आयामका रुपमा स्थानीय तहले शक्ति प्रँप्त गरेको बताइन् ।
साथै, स्थानीय तहमा महिला धेरै जानुपर्ने र त्यसका लागि दलहरूले बढी ध्यान दिनुपर्ने बताइन् ।
उनले राजनीतिक कार्यकर्ता र जनप्रतिनिधिहरूले सुशासन र विकासका लागि ध्यान केन्द्रित गर्न आग्रह गरिन् । राज्यका हरेक स्थानमा महिलाहरूको प्रतिनिधित्वले शक्ति विकेन्द्रीकरणको पूर्ण अभ्यास बढाएको बताइन् ।
‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तह सफल हुन्छ, संविधानले उपप्रमुखहरूलाई पूर्णकालिन कार्यकारीको अधिकार प्रदान गरेकोले महिलाको सहभागिता घटाउन हुँदैन’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकमा सुशासनको खोजी भइरहेको छ, यसलाई पूरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नु हुनेछ ।’
उनले जनताको कठोर संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रका नेतृत्वले प्राप्त गरेको भूमिकाले लोकतान्त्रिक अभ्यासलाई समेत थप सुदृढ बनाएको बताइन् ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उपप्रमुखहरूको सम्मेलनमार्फत महिलाको नेतृत्व विकास र सशक्तिकरणमा ठूलो सहयोग पुगेको बताए । उनले प्रदेश सरकारले समेत सम्मेलनलाई सहयोग गरेको बताए ।
सम्मेलनमा देशभरका २९१ वटा स्थानीय तहका उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
View : 402
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved