पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असोज ५ गते बसेको बैठकले विगत ३५ वर्षको अवधिमा बनेका सरकारहरूको समीक्षा गर्दै भ्रष्टाचार र कुशासनले मुलुकलाई संकटमा पुर्याएको निष्कर्ष निकालेको छ। महासचिव लालबाबु राउतद्वारा जारी विज्ञप्तिमा पार्टीले जेन-जी आन्दोलनलाई देशमा परिवर्तनको नयाँ दिशा देखाएको भन्दै त्यसको सराहना गरेको छ।
जेन-जी आन्दोलनको समर्थन, ओली सरकारको निन्दा
बैठकले युवाहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण र न्यायका लागि गरेको आन्दोलन जायज रहेको भन्दै त्यसप्रति समर्थन जनाएको छ। पार्टीले सामाजिक सञ्जालमाथि रोक लगाउने केपी शर्मा ओली नेतृत्वको सरकारको कदमलाई लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको प्रतिकूल भएको आरोप लगाएको छ।
आन्दोलनमा राज्यले दमनकारी नीति लिएर दर्जनौँको हत्या र हजारौँलाई घाइते बनाएको भन्दै जसपाले सरकारको आलोचना गरेको छ। आन्दोलनको क्रममा भएको धनजनको क्षति, लुटपाट, आगजनी र लुटिएका ११०० थान हतियारको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग पनि पार्टीले राखेको छ।
वर्तमान सरकारलाई समर्थन, तर संविधान संशोधनको अडान
जसपाले मुलुकमा उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गर्दै 'आवश्यकताको सिद्धान्त' का आधारमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएकोमा समर्थन जनाएको छ। पार्टीले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने र त्यसका लागि समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा, 'परिवर्तनकारी शक्तिहरूले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन गर्न संविधान संशोधन वा पुनर्लेखन नगरी सम्भव छैन,' भन्दै संविधान संशोधनको अडानलाई पुनः दोहोर्याएको छ। पार्टीले जेन-जी पुस्ताले उठाएका मागहरूलाई सम्बोधन गर्न युवाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने नीति पनि तय गरेको छ।
पार्टी शुद्धीकरण र संगठन विस्तारमा जोड
बैठकले पार्टीलाई एक सशक्त समाजवादी शक्तिको रूपमा विकास गर्न संगठन, संघर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ। यसका लागि प्रदेश अधिवेशन र राष्ट्रिय समितिहरूको काम सम्पन्न गर्ने, बुथ स्तरसम्म समितिहरू गठन गर्ने र पार्टी प्रवेशका कार्यक्रमलाई व्यापक बनाउने योजना रहेको जनाइएको छ।
जसपाले समान विचार र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकताका लागि प्रयास गर्ने र अन्य दलहरूसँग संयुक्त मोर्चा र सहकार्य गर्ने निर्णय पनि गरेको छ। पार्टीको नीति र अनुशासन विपरीत काम गर्ने जोसुकैमाथि कारबाही गरिने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ।
अन्तमा, पार्टीले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
View : 432
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved