Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

क्यासिनो नेपालीले भरिभराउ , प्रहरी प्रशासन मौन

स्रोतका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई विदेशी पाहुनाको नाममा वा होटल अतिथिको रूपमा प्रवेश गराइने गरेको छ । नेपाली नागरिकलाई विदेशी पाहुनाको विवरणमा नाम दर्ता गरेर, होटलको पाहुना देखाएर, शुल्क लिएर अस्थायी कार्ड उपलब्ध गराई क्यासिनोमा प्रवेश गराइने गरिएको छ ।
उद्‌घोष संवाददाता
७ पुष २०८२, सोमवार

विराटनगर । इटहरीका एक इञ्जिनीयरले गत वर्ष विराटनगरको बिग होटलमा सञ्चालित क्यासिनोमा रकम हारेपछि झण्डै एक करोड रुपैंया“ मूल्यको उनको कार सस्तोमा बिक्री गर्नुप-यो । विराटनगर निवासी ब्यावसायीक परिवारका एक युवकले यहा“कै रत्ना होटलमा रहेको क्यासिनोमा हारेर घरनै बिक्री गर्नुप-यो ।

धन सम्पत्ति सिध्याएका घटना मात्रै हैन क्यासिनोमा हारेकै कारण धेरैले आत्महत्या पनि गरेका छन् तर, यसलाई उनीहरुको परिवारले बताउन चाहदैनन् । जेनजी आन्दोलनपछि प्रहरी सक्रियतामा कमी आएकाले नेपालका क्यासिनोमा नेपालीलाई कानुनी रूपमा प्रतिबन्धित भए पनि खेल्न दिइन्छ । 

यसको खबर प्रहरी प्रशासनलाई भए पनि अहिले ती निकायले बेवास्ता गरेर बसेका छन् । बेवास्ता बापत क्यासिनोले प्रहरी प्रशासनलाई नगद उपहार पठाउने गरेको छ । विराटनगरका क्यासिनोबाट प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म रकम जाने गरेको स्रोतको भनाइ छ । भारतीय भन्दा नेपाली बढी आउने भएकाले विराटनगरका क्यासिनो सञ्चालक नेपालीलाई आकर्षित गर्न जुवाडेलाई घरमै लिन र पुर्‍याउन गाडीसमेत पठाउने गरेको बताइन्छ ।

गत वर्ष विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले क्यासिनोमा नेपाली खेलाडीको संख्या उल्लेख्य फेला परेको थियो । अहिले कतिसम्म खुकुलो भएको छ भने सरकारी कार्यालयका प्रमुखहरु सरकारी गाडी लिएरै क्यासिनो जाने गरेका छन् ।

यही पुस ३ गते बिहीबार विराटनगरस्थित एक सरकारी कार्यालयका प्रमुख सरकारी गाडी (स्कोरपियो) लिएर बिग होटलको क्यासिनोमा आनन्दले खेलेर राम्रै रकम जितेको स्रोतको भनाइ छ ।

क्यासिनोमा तीन वटा तासबाट खेलिने फलास खेल खेलेका उनका हातमा २, ३ र ५ अर्थात् सबैभन्दा सानो तास परेको थियो । त्यस बापत उनले क्यासिनोबाट ५० हजार भारतीय रुपैंया पाए । लगत्तै उनलाई पुनः सोही तास पर्‍यो । पुनः त्यतिनै रकम पाए । दुई पटकमा एक लाख भारु अर्थात् एक लाख ६० हजार रुपैंयाँ नेपाली पैसा उनले जिते  । 

प्रत्यक्षदर्शीका अनुसार उनी पेशेबर जुवाडे हुन् । क्यासिनोमा दुई वटा खालमा एकै साथ दुई हातले खेल्ने गरेका हाकिमले बिहीबार पनि त्यसै गरेका थिए । दाहिने हातले खेलेतर्फको खालमा पनि जितेका उनले देब्रे हातले खेलेतर्फ ५ मिनेट भित्रै एक लाख ६० हजार र थप रकम पनि जितेका थिए ।

स्रोतका अनुसार ५ लाख रुपैंयाँ भन्दा बढी जितेपछि सरकारी गाडी चढेर  उनी होटलबाट निस्किएका थिए ।

नेपालीलाई खेल्न दिइएका कारण गत वर्ष रत्ना होटलको क्यासिनोमा बाहिर खुकुरी हानाहान हु“दा दुई जना घाइते भएका थिए । जुवाको लतमा परेपछि एक ६० वर्षीया विराटनगर निवासी महिला पनि क्यासिनो धाउने गरेकी छन् ।

जुवामा हारेपछि मिटर ब्याजमा ऋण लिएर पनि उनले खेललाई निरन्तरता दिएको बताइन्छ । क्यासिनोमा हार्ने नेपालीका लागि त्यही मिटरब्याजीहरु उपलब्ध हुन्छन् ।
 विदेशीलाई मात्रै खेल्न दिनेगरी सरकारले इजाजत दिएको क्यासिनोमा हारेर बर्वाद हुने नेपालीको संख्या बढ्दै गएको छ । 

क्यासिनो तथा जुवा नियन्त्रणसम्बन्धी प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र खेल खेल्न निषेध गरिएको भएपनि पछिल्लो समय सो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेल क्यासिनोहरुमा बेलाबेला अनुगमन हुने गरेको बताउँछन् ।

‘क्यासिनोमा नेपालीलाई खेलाउनु भनेको गैरकानुनी हो, जुवा ऐन आकर्षित हुने भएकाले प्रहरीले कारवाही गर्छ’ उनले भने । जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दीको खोजीका क्रममा झापा र मोरङमा रहेका क्यासिनोमा प्रहरीले छापा मारेर उनीहरुको खोजतलास पनि गरेको थियो । 

क्यासिनोको अनुगमन तथा कारवाहीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई हुन्छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवन कोइराला आफू जिल्लामा नयाँ भएकाले यहा“को क्यासिनोबारे जानकारी नभएको बताउँछन् । सरकारी सवारी साधन लिएर राष्ट्रसेवक कर्मचारीनै जुवा खेल्न जाने गरेकोबारे उनले अनविज्ञता प्रकट गरे ।

‘सीडीओसाव बिदामा हुनुहुन्छ म आएको १५ दिन भयो केही कुरा बुझ्न पाएकै छैन’ उनले भने । 

स्रोतका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई विदेशी पाहुनाको नाममा वा होटल अतिथिको रूपमा प्रवेश गराइने गरेको छ ।

नेपाली नागरिकलाई विदेशी पाहुनाको विवरणमा नाम दर्ता गरेर, होटलको पाहुना  देखाएर, शुल्क लिएर अस्थायी कार्ड उपलब्ध गराई क्यासिनोमा प्रवेश गराइने गरिएको छ ।
 

View : 277

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved