Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

वृन्दावन धामका महन्त बिहारीशरण देवाचार्य विराटनगरमा

८ असार २०८२, आइतवार

विराटनगर । आध्यात्मिक प्रवचनका लागि चर्चित वृन्दावन धामका प्रख्यात पण्डित महन्त बिहारीशरण देवाचार्य विराटनगरमा आएका छन् । विराटनगर -३ स्थित भरत आचार्यको निवासमा आयोजित श्रीमद् भागवत महापुराण कथावाचनका लागि उनी आएका हुन् । ‘महन्तज्यूको मुखारविन्दबाट कथा श्रवण गर्न ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन्’ एक श्रोताले बताए ।

वृन्दावन धाम, राजपुरस्थित 'राधा माधव आश्रमका पीठाधीश समेत रहेका महन्त बिहारीशरण देवाचार्य गत जेठ २७ गतेदेखि विराटनगरमा श्रीमद् भागवत महापुराणका लागि आएका हुन् । उनी आफ्नो सरल भाषाशैली, आधुनिक तरिका र व्यावहारिक ज्ञानलाई दृष्टिगत गर्दै प्रवचन दिने भएकाले नेपालमा वर्षको दुई-तीन पटक पुराण वाचनका लागि  ऊनी आउने गरेका छन् ।

 

नेपालीभाषी भक्तजनको आश्रयस्थल : राधा माधव आश्रम

महन्त बिहारीशरण देवाचार्यद्वारा सञ्चालित वृन्दावनको राधा माधव आश्रम नेपाली मूलका भक्तजनहरूका लागि विशेष आश्रयस्थल बनेको छ। नेपालका विभिन्न प्रदेशहरूका साथै भारतका सिक्किम, पश्चिम बङ्गाल, आसाम, नागाल्यान्ड, मणिपुर र भुटानबाट समेत दैनिक जसो नेपालीभाषी  भक्तजनहरू सो आश्रममा आश्रय लिएर वृन्दावन धाम, मथुरा लगायतका धार्मिक क्षेत्रको भ्रमण गर्ने गर्दछन्।

करिब ३५ वर्षअघि नेपालबाट वृन्दावन धाम पुगेका महन्त बिहारीशरण देवाचार्यको संरक्षणमा रहेको सो आश्रममा १५० जनाभन्दा बढी भक्तजनहरू बसोबास गर्दछन् र त्यहाँ २० वटा कोठाहरू छन् । विशेषगरी झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूबाट भक्तजनहरू राधा माधव आश्रममा पुग्ने गरेको पीठाधीश महन्त बिहारीशरण देवाचार्यले बताए।

नेपालका मानिसहरूलाई धार्मिक यात्रामा सहज र सरल होस् भन्ने उद्देश्यले करिब ५० वर्षअघि स्थापना भएको सो आश्रममा हाल महन्त विहारीशरण देवाचार्यको संरक्षणमा आधुनिक सेवा-सुविधाहरू पर्याप्त रहेको राधा माधव आश्रमले जनाएको छ  ।

View : 503

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved