एआईबाट निर्मित सांकेतिक तस्वीर ।
विराटनगर । सर्वसाधारण नागरिकको जीवनशैली बनिसकेका सामाजिक सञ्जालका विभिन्न प्लेटफार्महरू बन्द गर्ने सरकारी कदमविरूद्ध तन्नेरी पुस्ता देशैभर आन्दोलित बनेको छ । ‘जेनजी’ पुस्ताको आह्वानमा सोमबारबाट देशव्यापी प्रदर्शन सुरू हुने भएको छ ।
कोशी प्रदेशका पनि विराटनगर, इटहरी, धरान, विर्तामोड, दमक लगायतका सहरहरूमा युवा पुस्ता सडकमा ओर्लने तयारी भएको छ ।
त्यसो त आइतबारबाट नै देशका विभिन्न ठाउँमा सरकारी निर्णयविरूद्ध प्रदर्शन सुरू भइसकेको छ ।
काठमाडौंमा पत्रकारहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरूद्ध प्रदर्शन गरेका छन् । तर, जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनको माग भने सामाजिक सञ्जालको निशर्त सञ्चालनमा मात्रै सीमित छैन ।
उनीहरूले यो आन्दोलनलाई भ्रष्टाचारविरूद्ध पनि केन्द्रित गर्ने योजना बनाएका छन् ।
सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ । त्यही पुस्ताले सोमबार विराटनगरसहित देशभरी प्रदर्शन गर्दैछ ।
विराटनगरमा सोमबार बिहान ११ बजे संसारीमाइस्थानमा तन्नेरीहरूले प्रदर्शन गर्दैछन् ।
जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् ।
सत्ताको मनोमानीविरूद्ध ‘जेनजी विद्रोह’ नाम दिइएको यो अभियानबारे टिकटकदेखि सबैतिर ट्रेण्ड चलेको देखिन्छ ।
चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरूले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरूद्ध नयाँ संघर्ष हुनेछ ।
सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रूपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।
अधिकांशले भनिरहेका छन् ‘यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साँच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।’
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’ लगायतमा पनि इनरूवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् ।
यसमा अधिकांशको समर्थन देखिन्छ । न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा ।
स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजी’ लगायतका नारा लिएको छ । तन्नेरीहरू यही आवाज लिएर सडकमा उत्रने भएको छ ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’ मा पनि यो अभियानले व्यापकता पाएको छ । त्यसमा एउटा पोस्ट राखिएको छ, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको छ ।
यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्छ । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्छ ।
उक्त पोस्टमा लेखिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिए पनि नेताहरू हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौं– इनफ इज इनफ ।’
यसरी स्वतस्फूर्त रूपमा सामाजिक सञ्जालबाट उठेको यो अभियानबारे लेखक सरिता तिवारी सामाजिक सञ्जालमा लेख्छिन् ‘काठमाडौंलगायत देशैभर युवाहरूले गर्ने भ्रष्टाचार विरूद्धको प्रदर्शन राजनीतिलाई कमाउ धन्दा बनाउने नेतृत्व, कर्मचारीतन्त्र र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको सञ्जाललाई चुनौती दिनेगरी बलियो बनोस् । अगाडि यो अभियानका अरू कार्यक्रम पनि तय होउन् ।’
यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटकभित्र देखिएको ट्रेन्डसँग जोडिएको छ ।
फिलिपिन्स र इन्डोनेसियाबाट सुरू भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली–महंगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।
यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् ।
यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रूपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरूको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।
सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड बढ्दो छ । यसमा ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइएको छ ।
नेताका छोरीछोरीको विदेश शयर, विलासी सामान प्रयोगदेखि अन्य ऐसआराम देखाइदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको, अनि गाउँघरमा दुःख पाएका दृश्य देखाइएको छ ।
‘हाम्रो कर कहाँ जान्छ ?’ भन्दै सत्तालाई प्रश्न गरिएको छ । संसद् भवनभित्र सांसद उभिएका दृश्य राखेर ‘द स्ट्याण्डअप कमेडी सर्कस’ भन्दै हालिएको छ ।
View : 436
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved