विराटनगर । कोशी प्रदेश सरकार गठन विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको चौथौं पटकको सुनुवाइ आज हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकाल रहेको १० नम्बर इजलासमा रिटको सुनुवाइ परेको छ ।
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै केदार कार्कीले गत बैशाख २७ मा रिट दर्ता गरेका थिए ।
बैशाख २८ मा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भएको पहिलो सुनुवाइका क्रममा प्रत्यार्थीहरु कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गसहित सातजना विपक्षीविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो । आदेशमा कोशी सरकारसँग सम्बन्धी पाँचवटा प्रश्नको निरुपणका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाइएको थियो ।
जेठ ९ को दोस्रो सुनुवाइमा न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम गठित तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको गठनको सम्पूर्ण प्रक्रिया सहितको सक्कल मिसिल झिकाउने आदेश दिएको थियो ।
त्यसैगरी जेठ १६ गते तेस्रो पेशीका लागि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले हेर्न नभ्याइनेमा राख्दै आज बुधबारका लागि पेशी तोकेको थियो ।
बुधबार उक्त रिटको सुनुवाइ तेस्रो नम्बरमा पेशी चढेको छ । अघिल्लो दुईवटा रिट बन्दी प्रत्यक्षीकरण सम्बन्धी रहेका कारण चाँडै आदेश हुने र त्यसपछि कोशी सरकार सम्बन्धी रिटमा वादी र प्रतिवादीतर्फको वकिलहरूले बहस गर्नसक्ने जनाइएको छ ।
View : 319
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved