Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा चुनाव :

झापा–३: जोगिएला लिङ्देनको विरासत ?

उद्‌घोष संवाददाता
२८ माघ २०८२, बुधवार

विराटनगर । झापा क्षेत्र नं ३ मा यसपटक दुईवटा विषय नौलो जस्तै भइरहेको छ । पहिलो, झण्डै दशकपछि नेकपा एमाले पहिलो पटक आफ्नै उम्मेद्वार लिएर चुनावी मैदानमा छ । 

दोस्रो, नेता कृष्णप्रसाद सिटौलाको प्रभावबाट लगभग मुक्त जस्तो बनेर नेपाली कांग्रेसका उम्मेद्वार मैदानमा छन् । उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेद्वारहरूसँग प्रतिष्पर्धा गर्दैछन् ।    

अघिल्लो निर्वाचनसम्म झापा ३ भन्ने बित्तिकै जोडिन आइपुग्ने नाम थियो, कृष्णप्रसाद सिटौला । कांग्रेसका नेता सिटौला २०७४ र २०७९ दुवै निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित बनेको यो क्षेत्रमा यस पटक सिटौलाको चर्चा त छैन नै, यहाँ कांग्रेसका उम्मेद्वार पनि सधैँजसो सिटौलाको खेदाइमा परेका राजेन्द्र घिमिरे छन् ।

दुई पटक चुनाव हारेपछि राष्ट्रिय सभामार्फत सिटौला संघीय संसद्मा पुगेका छन् । यस पटक उनले आफ्नो छोरासहितका नेताहरूको नाम सिफारिश गर्न लगाएका थिए । तर, विशेष महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्माहरू नेतृत्वमा आएपछि लामो समयदेखि सिटौलाको खेदाइमा परेका राजेन्द्र घिमिरेले अवसर पाएका छन् । व्यापारिक पृष्ठभूमिबाट आएका उनी संगठनात्मक रूपमा बलिया मानिन्छन् ।

त्यसो त यस पटक पनि सिटौला राष्ट्रियसभा छाडेर झापा ३ बाट प्रतिनिधिसभा चुनाव लड्न अग्रसर भइसकेका थिए । एमालेसँग मिलेर कांग्रेसले चुनाव लड्ने गरी शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच सहमति भइसकेको थियो ।

त्यसको एक डिजाइनकर्ता सिटौलाको सपना त्यसबेला भताभुङ्ग बन्यो जब विशेष महाधिवेशनले कांग्रेसभित्र उलटफेर ल्याइदियो । यसरी अन्तिम समयसम्म झापा–३ ताकिरहेका सिटौला यसरी यस पटक यो क्षेत्रको चुनावी चर्चाभन्दा पर पुगेका छन् । 

विगत दुई चुनावमा एमाले र राप्रपाबीचको चुनावी सहकार्यले यहाको प्रतिस्पर्धालाई प्रायः दुई ध्रुवमा सीमित गरेको थियो । यस पटक सबैखाले यो गठबन्धन टुटेपछि यो क्षेत्र बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ । एमाले, राप्रपा र कांग्रेस तीनवटै प्रमुख दल आ–आफ्नो शक्ति केन्द्रित गर्दै मैदानमा उत्रिएका छन् । रास्वपा, श्रम संस्कृति पार्टी लगायतका दलहरू पनि आ–आफ्ना उम्मेद्वारसहित चुनावी मैदानमा छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यस पटक जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । एमालेले संविधानसभा सदस्य हरि राजवंशीलाई मैदानमा उतारेको छ । नेपाली कम्युनिस्ट पार्टीले डिल्लीराम घिमिरे हिक्मतलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला संयोजक प्रकाश पाठकलाई दोस्रो पटक मैदानमा उतारेको छ । 

झापा–३ का एमाले मतदाताहरू विगत एक दशकदेखि आफ्नै दलको चुनाव चिह्न ‘सूर्य’ मा भोट हाल्न नपाएको गुनासो गर्दै आएका थिए । 

उम्मेदवार छनोट प्रक्रियादेखि नै असन्तुष्टि बढ्दै गएको थियो । यही असन्तोषका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट बाँड्ने बेलामा केही समय झापा–३ लाई ‘होल्ड’ मा राखेका थिए ।

यद्यपि स्थानीय तहबाट विरोध चर्किएपछि अन्ततः सिफारिस सूचीमै रहेका आदिवासी समुदायका हरि राजवंशीलाई टिकट दिने निर्णय गर्न ओली बाध्य भएका थिए । एमालेका प्रदेश सदस्य माधव विद्रोही भन्छन्, ‘एमालेले आफ्नै उम्मेदवारसहित मैदानमा उत्रिएकाले उत्साह छ ।’ 

उनका अनुसार पार्टीभित्र अहिले देखिएको उत्साह अघिल्ला निर्वाचनभन्दा फरक छ । त्यसो त कांग्रेस पनि यस पटक उत्साही देखिएको छ भने नेकपा र रास्वपा पनि आत्मविश्वासी रहेको दाबी गरिरहेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा तालमेल हुँदा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू अर्को गठबन्धनमा थिए । नतिजा भने लिङ्देनको पक्षमा आएको थियो ।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका थिए । लिङ्देनले ३७ हजार ३ सय ६२ मत पाएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए ।

समानुपातिक मततर्फ कांग्रेस पहिलो बनेको थियो । कांग्रेसले २५ हजार ५ सय ३५ मत पाउँदा राप्रपाले १९ हजार ७ सय ४३ मत पाएर दोस्रो भएको थियो । एमालेले १९ हजार ४ सय ६०, रास्वपाले ७ हजार ८ सय १२, माओवादीले ७ हजार ५ सय ५९ र नेकपा एसले ३ सय ४५ मत पाएको थियो ।

झापा–३ मा  कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका पर्छन् । साथै, बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र भद्रपुर नगरपालिकाका वडा १ देखि ८ सम्म यो क्षेत्रमा समेटिएका छन् । यहाँ कुल १ लाख ४० हजार ८ सय ५७ मतदाता छन् । 

पछिल्लो समय ९ हजार ४ सय २५ नयाँ मतदाता थपिएका छन् । जसले चुनावी नतिजामा प्रभाव पार्ने अनुमान गरिएको छ ।

यस पटक चुनावी मैदानमा रहेका मध्ये झापा–३ मा सबैभन्दा पुराना उम्मेद्वार  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै हुन् ।  यो उनको पाँचौ निर्वाचन हो । 

यसअघि दुई पटक पराजित र दुई पटक विजयी भइसकेका उनी पुनः मैदानमा छन् । अघिल्ला चुनावमा एमालेसँगको सहकार्यबाट लाभ लिएका लिङ्देन यसपालि एक्लै प्रतिस्पर्धामा छन् । यही कारणले यसअघिका दुई निर्वाचनमा जस्तो सहज अवस्थामा लिङ्देन छैनन् ।

View : 194

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved