उदयपुर । नेपाली कम्युनिष्ट पार्टी नेकपा उदयपुरमा उम्मेदवारी सिफारिस प्रक्रियाप्रति युवाहरुले असन्तुष्टि जनाएका छन् ।
पार्टीनिकट युवा संघ जिल्ला समितिले पार्टी एकतापछि गठित जिल्ला कार्यदललाई पत्र लेख्दै आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको उम्मेदवारी सिफारिसमा युवालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएको हो ।
पत्रमा प्रारम्भिक सिफारिस सूचीमा युवाको प्रतिनिधित्व नदेखिएको उल्लेख गर्दै यसले पार्टीभित्र निराशा र असन्तोष बढाएको उल्लेख छ ।
युवाको क्षमता, योगदान र संगठनप्रतिको निष्ठालाई बेवास्ता गरिंदा पार्टीको दीर्घकालीन भविष्यमा नकारात्मक असर पर्ने चेतावनीसमेत पत्रमा दिइएको छ ।
युवा संघका उदयपुर अध्यक्ष टिकाराज राई र सचिव राजेश दनुवारले जिल्लाका दुबै निर्वाचन क्षेत्रमा युवाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने माग गर्दै नामसमेत प्रस्ताव गरेका छन् ।
जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राजेश दनुवारको नाम अघि सारिएको छ भने क्षेत्र नम्बर २ बाट सुदिप चाम्लिङ र लक्की राईलाई उम्मेदवारका रूपमा सिफारिस गर्न आग्रह गरिएको छ ।
त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट बेनी ठाकुर र क्षेत्र नम्बर २ बाट युवा संघकै अध्यक्ष रहेका टिकाराम राईको नाम सिफारिस गरिएको छ ।
यसअघि पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बु किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राईको नाम सिफारिस गरेको थियो ।
त्यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ एविराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहालको नाम सिफारिस भएको छ ।
युवा संघले यी सिफारिस सूचीमा युवाको सहभागिता न्यून रहेको भन्दै पार्टी नेतृत्वलाई पुनर्विचार गर्न आग्रह गरेको छ ।
युवालाई अवसर नदिइए पार्टीभित्र असन्तोष अझ चर्किने र संगठन कमजोर बन्न सक्ने चेतावनीसहित तत्काल सुधारको माग गरेका हुन् ।
View : 430
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved