कोशीमा कार्की बन्धुको द्वन्द्व नयाँ चरणमा
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबीचको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे प्रदेश सभामा अनशन बस्ने चेतावनी दिएका छन् ।
आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रमहरु वर्तमान सरकारले कटौती गरेको उनले आरोप लगाएका हुन् । वर्तमान मुख्यमन्त्री कार्कीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका पूर्व मुख्यमन्त्री कार्कीले आइतबार पुनः स्मरण पत्र पठाएर ती कार्यक्रमहरुलाई निरन्तरता नदिए सरकारविरुद्ध अनशन थाल्ने चेतावनी दिएका हुन् ।
‘यसअघि कोशी प्रदेशमा तपाँईको दलको समेत समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मेरो नेतृत्वमा सरकार रहेको यहाँलाई अवगत नै छ। त्यस सरकारले नेपाली कांग्रेसको नीति र विचार तथा बीपीको प्रजातान्त्रिक समाजवादी दर्शनलाई आत्मसात् गर्दै तल्लो तहका जनसमुदायको हित र कल्याणका लागि विभिन्न कार्यक्रम ल्याएको तथ्य स्मरण गराउँदछु’, कार्कीले भनेका छन् ‘मेरो नेतृत्वको सरकारले जनताले तिरेको राजस्व जनतालाई नै अर्पण गर्ने नीतिअनुसार जनकेन्द्रित बजेट ल्याएको हो । सरकारका विकास कार्यक्रम सिधै तल्लो तहका जनता र भुईँमान्छेसित पुग्ने गरी त्यस सरकारले बजेट प्रस्तुत गरेको थियो । त्यसैले प्रदेशसभाबाट सर्वसम्मतिले बजेट पारित हुनसकेको हो । तर वर्तमान प्रदेश सरकारका तपाई माननीय मुख्यमन्त्री हिक्मत कार्कीले ती सबै जनहितकारी कार्यक्रम कटौती गरेर जनविरोधी कृत्य गर्नुभएको छ ।’
पूर्व मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरीका दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो । हालका मुख्यमन्त्री कार्कीले स्रोतले नधान्ने भन्दै उक्त कार्यक्रम कटौती गरेका छन् । पूर्व मुख्यमन्त्री कार्कीले यो कार्यक्रम निरन्तर सञ्चालनको माग गरेका छन् ।
त्यस्तै बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृति, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम कटौती गरिएको पूर्व मुख्यमन्त्री कार्कीको आरोप छ ।
कार्कीले यसबारे प्रदेशसभाको रोस्टमबाट पनि बोलिसकेको स्मरण गराएका छन् । उनले अल्टिमेटमको बेवास्ता भएमा ४८ घण्टापछि विराटनगर महानगरपालिका देवकोटा चोकस्थित प्रदेशसभाको परिसरमा अनशन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
पूर्व मुख्यमन्त्री कार्कीले यसबारे प्रदेशस्थित नेपाली कांग्रेसको प्रदेश समिति र केन्द्रीय समितिलाई पनि पत्रमार्फत नै जानकारी गराएको बताएका छन् ।
View : 278
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved