Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई अदालतमा झिकाउन आदेश

१७ वैशाख २०८१, सोमवार

विराटनगर । जबरजस्ती करणीको आरोप लागेका जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा नामले चिनिने कृष्णबहादुर गिरीलाई अदालतमै झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

न्यायाधीशद्वय श्रीधराकुमारी फुडासैनी र नरेशकुमार चौधरीको संयुक्त इजलासले शुत्रबार प्रत्यार्थीलाई झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

‘शुक्रबार आदेश भएको छ, प्रत्यर्थी झिकाउने आदेश भएको हो’ उनले भने । 

आफ्नै एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले भने दाबी नपुग्ने भन्दै धरौटीमा छाडेको थियो ।

न्यायाधीश हरिप्रसाद कोइरालाले २०८० भदौ ५ गते उक्त मुद्दामा अभियोगको दाबी नपुग्ने आदेश दिएका थिए । त्यसविरुद्ध पीडित भनिएकी २९ वर्षीया महिला अनुयायी र आरोपी सिद्धबाबा दुवैजना उच्च अदालत पुगेका थिए । पीडित भनिएका महिलाले उच्च सरकारी वकिलको कार्यालयमार्फत २०८० मंसिर १८ मा उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।

२०८० पुस १८ मा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेशको मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएका थिए ।

त्यस्तै सिद्धबाबाले पनि साधारण तारेखमा छाड्नु पर्नेमा धरौटीमा छाड्ने आदेश खारेजको माग गर्दै २०८० पुस २२ मा उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतले ऊक्त मुद्दाको शुत्रबार पहिलो सुनुवाई गर्दै प्रत्यर्थी गिरीलाई अदालतमा बोलाउने आदेश दिएको हो । आदेशानुसार अब गिरीका नाममा म्याद जारी हुने जनाइएको छ ।

सिद्धबाबाविरुद्ध २०७६ कात्तिक ४ गते राति १२ बजे सुनसरीको चतरास्थित उनकै आश्रममा महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । २०७९ असार १४ मा जिल्ला अदालत सुनसरीमा सिद्धबाबाविरुद्ध जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो ।

View : 87

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved