विराटनगर । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा मोरङका ६ मध्ये पा“चवटा क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । १५ औं महाधिवेशनको कार्यतालिका तोकिसकेको कांग्रेसले चुनावी तयारीका लागि उम्मेदवार छनोट कार्यलाई पनि तिब्रता दिएको हो ।
क्षेत्र नम्बर ३ र ६ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएपनि क्षेत्र नम्बर ५ मा भने विवाद देखिएको छ । बुधबारसम्म क्षेत्र नम्बर ५ बाट नाम सिफारिस हुने जनाइएको छ ।
कोशी प्रदेशको सवैभन्दा धेरै निर्वाचन क्षेत्र मोरङमा छ । ६ वटा क्षेत्र मध्ये अधिकांश क्षेत्रको उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बताए ।
क्षेत्रीय समितिले कम्तिमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ ।
कांग्रेस केन्द्रीय समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि आकांक्षीहरूको नाम सिफारिस गर्न भन्दै पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा मोरङका ६ वटै क्षेत्रबाट नाम सिफारिसको प्रक्रिया अघि बढेको थियो ।
क्षेत्र नम्बर १ बाट मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूको नाम एक नम्बरमा सिफारिस भएको छ । त्यस्तै प्रदेश समितिका सहमहामन्त्री खड्गबहादुर फागोको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको जनाइएको छ ।
क्षेत्र नम्बर २ बाट कोशी प्रदेश सभाका पूर्व सांसद शिवनारायण सिंह र प्रतिनिधि सभाका पूर्व सांसद डा. मीनेन्द्र रिजालको नाम सिफारिस भएको क्षेत्रीय समितिका उपसभापति देवेन्द्रबहादुर बस्नेतले जानकारी दिए । क्षेत्र नम्बर २ मा महिलाबाट नारायणीदेवी पण्डितको नाम सिफारिस भएको हो ।
त्यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ सुजता कोइराला र गोपालमानसिंह राजभण्डारीलाई सिफारिस गरिएको उपसभापति बस्नेतले जानकारी दिए ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सुनिलकुमार शर्माको एकल नाम सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट शर्मा निर्वाचित भएका थिए । क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गरेको जनाइएको छ ।
त्यसैगरी, क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा महेश आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस भएको क्षेत्रीय सभापति विनोदकुमार बस्नेतले जानकारी दिए ।
आचार्यसँगै गुरुराज घिमिरे, दिलिप गच्छदार र आफ्नो पनि नाम सिफारिस भएको उनले बताए । प्रतिनिधि सभामै महिलातर्फ दुर्गा कोइराला भट्टराई र समानुपातिकतर्फ भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार र विजय माझीको नाम सिफारिस गरिएको बस्नेतले जानकारी दिए । समानुपातिक महिलातर्फ इन्दिरा कार्की र सुची चौधरीलाई सिफारिस गरेको जनाइएको छ ।
त्यस्तै राष्ट्रिय सभा सदस्यमा सुवोध निरौला, सन्तनु रेग्मी, संगीता आचार्य र शशिकला श्रेष्ठ सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ५ मा भने उम्मेदवार सिफारिस हुन नसकेको जनाइएको छ । आकांक्षीहरू धेरै भएका कारण विवाद भएका कारण बुधबार विहानसम्म नाम टुंगो लगाउने तयारी रहेको जनाइएको छ । ५ नम्बरबाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी र फैयाज राइन लगायतको नाम चर्चा रहेको छ ।
क्षेत्र नम्बर ६ बाट डा.शेखर कोइरालाको नाम एकल रुपमा सिफारिस गरिएको क्षेत्रीय समितिका सभापति देवराज तामाङले बताए । कोइराला यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
जिल्ला कार्यसमितिमा सवै क्षेत्रबाट नाम सिफारिस भएका नाम लिखित रुपमा प्राप्त भएपछि केन्द्रीय समितिमा पठाइने जिल्ला सभापति लिम्बूले बताए ।
‘६ वटै क्षेत्रले नाम सिफारिस गरिसकेको जानकारी आएको छ’ लिम्बूले भने, ‘जिल्लामा आएपछि हामी भोली (बुधबार) सम्म केन्द्रीय समितिमा नाम पठाउँछौं ।’
View : 319
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved