Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

गोली हानेर समातिए लागुऔषध कारोबारी

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

सांकेतिक तस्वीर ।

विराटनगर । झापामा प्रहरीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । 

शनिबार दिउँसो भद्रपुरमा गोली प्रहार गरेर पक्राउ गरिएका ती व्यक्तिको साथबाट खैरो हेरोइन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–५ को मुख्य बजारस्थित भित्री सडकखण्डमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोज्ने क्रममा  भारतीय नागरिकलाई गोली प्रहार गरेको हो ।

शनिबार दिउँसो करिब ३ः५० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका भारतको किसनगञ्ज जिल्ला, कोल्लिकोट थाना बस्ने वर्ष ३६ का मोहम्मद इस्लामलाई फेला पारेको थियो । 

प्रहरीलाई देख्नेबित्तिकै इस्लामले प्रहरी टोलीमाथि नै आक्रमण गरी भाग्ने प्रयास गरेको प्रहरी दाबी छ । 

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएको छ । प्रहरीले चलाएको पेस्तोलको दुई राउण्ड गोलीमध्ये एक राउण्ड उनको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको झापा प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर घाइते भएका इस्लामको साथबाट प्लास्टिकसहित ११० ग्राम २०० मिलिग्राम र प्लास्टिकबाहेक १०७ ग्राम १०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ ।

घाइते इस्लामको प्रहरीको निगरानीमा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

View : 402

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved