Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सकियो प्रदेश लगानी सम्मेलन

१ खर्ब ५२ अर्ब १६ करोडको लगानी प्रतिवद्धतामा हस्ताक्षर

उद्‌घोष सम्वाददाता
२० वैशाख २०८२, शनिवार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लागतका परियोजनामा लगानी प्रतिवद्धता भएर परियोजना प्रवद्र्धनका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार सम्पन्न भएको लगानी सम्मेलनमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरूबीच परियोजना प्रवद्र्धनको सम्झौता भएको हो । 

प्राधिकरणका अनुसार कृषि क्षेत्रका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटन क्षेत्रका १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापन सम्बन्धि परियोजनामा ६० करोड रुपैयाँ लगानी गर्न निजी क्षेत्रले लगानी प्रतिवद्धता जनाएका हुन् ।

सम्झौता भएका मध्ये निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना छन् । ती परियोजनालाई अघि बढाउनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्झौता गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए । उनले राष्ट्रको विकासका लागि सरकारको कोषमात्रै सम्भव नभएको बताए ।

‘निजी क्षेत्रको पनि आवश्यक छ भन्ने देखाएको छ, विदेशी लगानी भित्र्याएर मात्रै नेपालको आर्थिक बृद्धिदर बढाउन सकिन्छ’ उनले भने, ‘लगानीकर्ताको आशय अनुसार गरेका प्रतिवद्धता पुरा गर्ने हाम्रो दायित्व छ, प्रधानमन्त्रीले सहजीहरण गर्ने कुरा गर्नु भएको छ, कोशीमा लगानीको वातावरण बनाउन प्रतिवद्धता व्यक्त गर्नु भएको छ, हाम्रो होस्टेमा संघीय सरकारले हैंसे गरेको छ ।’

पूर्व मुख्यमन्त्री केदार कार्कीले लगानी मैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताए । सरकारले चाहेमा तत्काल कानुनहरू संशोधन हुने र त्यसले लगानीको वातावरण तयार हुने बताए ।

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर बिष्टले लगानी सम्मेलन सफल भएको बताए । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले कोशी प्रदेशले लगानी मैत्री वातावरण तयार गरेको बताए । 

आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत सहजीकरणले लगानी बृद्धिका लागि सहजीकरण गर्ने बताए । उनले प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको बताए ।

चिनिया लगानीकर्ता लियाङ झुङ, गैर आवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगाना लगायतले कोशी प्रदेशमा लगानीको बृहत सम्भावना रहेको बताएका थिए ।

View : 236

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved