विराटनगर : विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुले १० हजार फिटमाथिसम्म पुग्ने रकेट निर्माण गरेका छन् । ६ दिनसम्म चलेको खगोल विज्ञानसम्बन्धी कार्यशालाको समापन हुँदा उनीहरुले सिकेका ज्ञान र सीपको प्रयोग गर्दै रकेट निर्माण गरेका हुन् ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले विद्यार्थीहरुले रकेट बनाए पनि त्यसमा प्रयोग हुने इन्धन नेपालमा प्रतिबन्धित रहेका कारण रकेटलाई आकासमा परीक्षण गर्न कठिनाई भएको गुनासो गरे । उनले विद्यार्थीहरुको लगनशिलताले कार्यशाला सफल भएको भन्दै आगामी दिनमा अन्य स्कुल तथा कजेलहरुले समेत यस्ता कार्यशाला गर्दै कोशी प्रदेशको शैक्षिक हबको पहिचान बढाउनु पर्नेमा जोड दिए ।
कलेजमै रकेट र स्याटेलाइट निर्माण गर्ने तथा अन्तरीक्ष विज्ञानलाई प्रयोगात्मक रुपमा अघि बढाउन प्रयोगात्मक कार्यशाला संचालन गरिएको जनाइएको छ । खगोल विज्ञानको क्षेत्रमा काम गर्दै आएको काठमाडौंस्थित द स्क्वाड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा आयोजित कार्यशालामा सहभागी भएका विद्यार्थीहरुलाई शिक्षादीप कलेजका अध्यक्ष एवं कोशी प्रदेश सभाका सदस्य भीम पराजुलीले प्रमाणपत्रसहित सम्मानित गरेका थिए ।
पराजुलीले शैक्षिक क्षेत्रका धेरै बिषयमा अध्ययन तथा अनुसन्धान आवश्यक रहेको र राज्यले लगानी समेत गर्नुपर्नेमा जोड दिए । उनले अन्तरिक्ष प्रविधि (स्पेस टेक्नोलोजी) को विकासमा प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । साथै शिक्षादीपले आफ्नो क्षमता अनुसार विद्यार्थीहरुलाई खगोल विज्ञानसम्बन्धी ज्ञान प्रदान गरेर नयाँ प्रयास सुरु गरेको बताए ।
सोही अवसरमा कलेजका विद्यार्थी सुरबी मण्डल र अश्विनी अधिकारीले भूउपग्रह विज्ञान, राहुल ठाकुरले रकेट विज्ञान र मोनालिसा यादवले खगोल विज्ञानबारे आफ्नो अध्ययन अनुसन्धानको प्रस्तुति गरेका थिए । साथै कजेजमा प्रविण गिरीको संयोजकत्वमा रोबोटिक क्लव समेत गठन भएको घोषणा गरिएको थियो ।
कार्यक्रममा द स्क्वाड अफ चेन्ज मेकर्सका सुशीलदेव भट्टराई, एस्ट्रोनोमी क्लवकी सचिव सिम्रिका तिम्सिना, विद्यार्थी श्रृष्टि श्रेष्ठ लगायतले कार्यशालाको शिक्षण र सिकाइबारे अनुभव सुनाएका थिए ।
View : 198
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved