Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एम्बुलेन्सबाट गाँजा ओसार– पसार धन्दा

भेडेटारमा ५२ केजी गाँजा बरामद भएको २४ घण्टामै बराहक्षेत्रमा एम्बुलेन्स भित्रै भेटियो करिव तीन सय केजी गाँजा

उद्घोष सम्वाददाता
१३ फागुन २०८०, आइतवार

विराटनगर । दुई दिनको अवधिमा एम्बुलेन्समा लुकाएर ल्याएको  ठूलो परिमाणको गाँजासहित दुईवटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र र नेपाल प्रहरीले धनकुटाको भेडेटारबाट गाजा बोकेका दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिएका हुन् ।

नेपाल प्रहरीले शनिबार बेलुका भेडेटारमा मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट ५२ केजी गाजा बरामद गरेको २४ घण्टाभित्रै सशस्त्र प्रहरीले पनि एम्बुलेन्सबाटै झण्डै तीन सय किलो गाजा नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारस्थित चतरा– धरान सडक खण्डको बगुवाबाट सूर्यकुण्ड जाने भित्री सडकमा एम्बुलेन्समा लोड गरि राखिएको अवस्थामा  २ सय ७३ किलो (९ बोरा) गाजा बरामद गरेको जनाएको छ ।

विशेष सुचनाका आधारमा आइतबार बिहानको राती सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट खटिएको टोलीले को १ च २९३७ नम्बरको एम्बुलेन्समा लोड भएको गाजा बरामद गरेको हो । 

प्रहरीलाई देखेपछि एम्बुलेन्स चालकसहित केही व्यक्तिहरू भने एम्बुलेन्स छाडेर फरार भएको जनाइएको छ ।

उक्त एम्बुलेन्स भारत सरकारबाट क्यू.जि.ई रेजिमेन्टल एशोसिएसनको नाममा अनुदान सहयोगमा प्राप्त भएको जनाइएको छ ।

उक्त गाजा भारततर्फ लैजाने तयारी रहेको प्रहरीले आशंका गरेको छ । बरामद गाजा र एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले शनिबार साँझ भेडेटारबाट एम्बुलेन्सबाटै  ५२ केजी गाँजासहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट एम्बुलेन्ससहित त्यसका चालक विराटनगर महानगरपलिका– ८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरेको हो ।

View : 745

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved