Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

शिक्षादीपकी विभा बनिन् एमबीबीएसमा नाम निकाल्ने नेपाल प्रथम छात्रा (फोटो)

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८२, बुधवार

विराटनगर । विराटनगरको अग्रणी उच्च शिक्षालयका रुपमा परिचित शिक्षादीप कलेजकी छात्रा विभाकुमारी नायकले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस परीक्षामा छात्रातर्फ नेपाल प्रथम भएकी छन् ।

एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा नेपाल प्रथम भएपछि कलेजले मंगलबार उनलाई एक कार्यक्रमको अवसर पारेर ५१ हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ । 

कलेजले विभाले हासिल गरेको सफलतालाई कलेजका लागि समेत ऐतिहासिक उपलब्धि भएको भनेको छ ।

कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले काठमाडौं उपत्यका बाहेक शिक्षादीपले हरेक बर्ष एमबीबीएस र इन्जिनियरिङतर्फ सर्वोत्कृष्ट नजिता हासिल गरिरहेको बताए । 

उनले छात्रातर्फ नेपाल प्रथम बन्न सफल भएकी विभासहित उत्कृष्ट भएर एमबीबीएस प्रवेश परीक्षामा उतीर्ण भएका विद्यार्थीहरू श्रुति वरनवाल र पुष्पराज तिम्सिनालाई पनि सम्मानित गरेका हुन् । 

चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको एकीकृत परीक्षाको पहिलो चरणको नतिजा सार्वजनिक हुँदा शिक्षादीपले उत्कृष्टता प्राप्त गरेको प्राचार्य खड्काले बताए । 

देशभरबाट १८ हजार बढी परीक्षार्थी सहभागी हुने उक्त परीक्षाको समावेशी क्लष्टरतर्फको परीक्षाफल भने प्रकाशित हुनै बाँकी छ ।

प्राचार्य खड्काले सवै नजिता आइसक्दा शिक्षादीपका एक दर्जन बढी विद्यार्थीहरूले एमबीबीएस प्रवेश परीक्षा उतीर्ण हुने विश्वास लिएको बताए ।

छात्रातर्फ नेपाल प्रथम भएकी विभा समग्र योग्यताक्रममा देशभरमै छैटौं स्थानमा एमबीबीएस प्रवेश परीक्षा उतीर्ण गरेकी हुन् । 

प्राचार्य खड्काले शिक्षादीप कलेजलाई अघि बढ्न कसैले पनि रोक्न नसक्ने बताए । उनले शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको गहिरो लगनशिलताका कारण देशभरमै निरन्तर उत्कृष्ट नतिजा हासिल गर्ने कलेजका रुपमा शिक्षादीपलाई स्थापित गर्न उर्जा प्रदान गरेको बताए । 

चिकित्सा शिक्षामात्रै नभई शिक्षादीपमा हरेक संकायमा अध्ययनरत विद्यार्थीहरूले देशभरमै गौरवमय नतिजा हासिल गर्दै आएको जानकारी दिए ।

शिक्षादीपकै विद्यार्थी अदितीकुमार जैनले पनि २०७९ को चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम भएकी थिइन् ।

View : 728

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved