ग्रामथान उपनिर्वाचन २०८१
विराटनगर । आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारहरू मध्ये नेपाली कांग्रेसका बलराम सरदार सवैभन्दा ज्येष्ठ उम्मेदवार हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउँदा उनको उमेर ७३ बर्ष पुगेको छ ।
माओवादी केन्द्रका नमोनारायण माझी ५४ वर्षका छन् । नेकपा एमालेका तुलसीराम विश्वास ५० बर्षका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा ५८ वर्षका हुन् ।
अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा ५० बर्ष माथिका ७ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । बाँकी सवै ५० बर्ष मुनिका छन् ।
राप्रपाका दिनेशकुमार थन्दार भने सवैभन्दा कान्छो उमेरका हुन् । उनी ३३ बर्षका मात्रै छन् ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार १६ जनाले मनोनयन दर्ता गरेका हुन् । मिसन–८४ को पहिलो अभ्यासका रुपमा हेरिएको मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरूले आइतबार तामझामका साथ मनोनयन दर्ता गरेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका प्रमुख दलका १५ र एक स्वतन्त्र गरी १६ जनाले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार र नेकपा माओवादी केन्द्रका नमोनारायण माझीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास थारु, जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दिएका छन् ।
अध्यक्ष पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रशुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारुले मनोनयन दर्ता गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको मनोनयन दर्ता भएको जनाइएको छ ।
नमनारायण चौधरी थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी एमालेबाट अध्यक्ष पदका लागि उम्मेदवार बन्न आकांक्षी थिए । तर जिल्लाबाट प्रदेश कमिटीमा पठाइएको सिफारिसमा उनको नाम कटेपछि उनी असन्तुष्ट बनेका थिए । असन्तुष्टि स्वरुप उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् ।
२०७९ को निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका कांग्रेसका जय प्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो ।
View : 69
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved