दमक । यसपटकको प्रतिनिधिसभा चुनावको ‘इपिसेन्टर’ बनेको छ झापा ५ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र यसै पनि धेरैका लागि चासोको ठाउँ हुने नै भयो । यसपटक यो चासो अझ बढाउने काम गरेका छन् बालेन शाहले ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न बालेनले झापा ५ को टिकट पाएसँगै यहाँ एमालेजनले ‘बा’ सम्बोधन गर्ने ओली र काठमाडौंका पूर्व मेयर बालेन शाहबीच चुनावी भीडन्त हुने पक्का भएको छ ।
झापा ५ को केन्द्र मानिने दमक बजारमा सोमबार दिउँसो अबेरसम्म पनि केहीले शंका व्यक्त गरिरहेका थिए ।
‘के बालेन शाह साँच्चै आउने रहेछन् ?’ दिउँसो १२ बजेतिर दमक नगरपालिका कार्यालय नजिकैको पान पसलमा भेटिएका दमक–५ का बासिन्दा कृष्ण पौडेल सोध्दै थिए ‘उनी यहाँ आउलान् जस्तो लाग्दैन । एमालेको गढमा उनी हार्नलाई के आउँथे ?’
एमालेका संगठित सदस्य पौडेलले यस्तो शंका व्यक्त गर्दै गर्दा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह भने जनकपुरमा रास्वपा अध्यक्ष रवि लामिछानेको हातबाट झापा ५ कै लागि टिकट लिंदैथिए । मंगलबार बिहान ११ बजे लागि उनले उम्मेदवारी दर्ता गराउने बताइएको छ ।
पूर्व प्रधानमन्त्री ओली सोमबार नै दमक आइपुगेका छन् । उनले मंगलबार दिउँसो १ बजे उम्मेद्वारी दर्ता गराउने कार्यक्रम छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा देशको ध्यान तान्ने क्षेत्र बनेको यो क्षेत्रमा नेपाली राजनीतिका एक पुराना र स्थापित राजनीतिज्ञ ओली र नयाँ पुस्ताको असन्तोषको प्रतिनिधित्व गर्ने अनुहार बालेनबीच प्रतिष्पर्धा निश्चित भएको छ ।
त्यसो त झापा–५ परम्परागत रूपमा एमालेको बलियो किल्ला मानिन्छ । यही क्षेत्रबाट ओलीले छ पटक संसद्मा झापाको प्रतिनिधित्व गरिसकेका छन् ।
२०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ का निर्वाचनमा उनी विजयी भएको यो क्षेत्रमा २०६४ मा उनी पराजित बनेका थिए । त्यसबेला माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग करिब १२ सय मतान्तरले पराजित भएका थिए ।
पछिल्लो निर्वाचन २०७९ मा त उनले देशभरकै सर्वाधिक मत ल्याउँदै झापा–५ लाई आफ्नो ‘अभेद्य गढ’ सावित गरेका थिए ।
२०७९ मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी २३ हजार ७ सय ४३ मतमा सीमित भएका थिए ।
उनीहरुबीच २८ हजार ५ सय ७६ को मतान्तर थियो । त्यही निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७ सय ४८ मतसहित तेस्रो भएका थिए ।
समानुपातिकतर्फ भने रास्वपाले झापा–५ मा १८ हजार २ सय ५ मत पाएको थियो, जुन एमालेको ३५ हजार ८ सय ७२ मतपछि दोस्रो ठूलो मत थियो ।
रास्वपाबाट उम्मेदवार बन्दै गरेका बालेन शाहले यस क्षेत्रलाई ‘हटकेक’ बनाइदिएका छन् । काठमाडौं महानगरको मेयर हुँदा लिएको कडा, विवादास्पद अनि चर्चित कार्यशैलीका कारण बालेन नयाँ पुस्तामाझ लोकप्रिय छन् ।
रास्वपाले उनलाई प्रधानमन्त्री बनाउने सहमतिसहित पार्टी प्रवेश गराएको थियो ।
उता एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यसरी झापा–५ मा प्रधानमन्त्रीको दाबी गरिरहेका दुई अनुहारको सीधा भिडन्त हुने निश्चित भैसकेको छ ।
त्यसो त ओली–बालेन भिडन्तको बीचमा अन्य दलहरू पनि मैदानमा छन् । नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्र्टीबाट समिर तामाङ उम्मेदवार छन् । स्थानीयबासी मुख्य प्रतिस्पर्धा ओली र बालेनकै बीचमा केन्द्रित हुने अनुमान लगाउँछन् ।
उम्मेदवारी मनोनयनको अघिल्लो दिन सोमबार झापा ५ का विभिन्न स्थानमा पुग्दा मतदाताको मनोदशा फरक–फरक पाइएको छ । तर, एउटा साझा सम्भावना भने सबैको मुखमा झुण्डिएकै भेटिन्छ ‘ओलीलाई यसअघि जस्तो यसपालि सजिलो चाहिं छैन ।’
गौरादह नगरपालिका–३ का ७२ वर्षीय डिल्लीप्रसाद फुयाल भन्छन् ‘धेरै चुनाव देखियो । आखिर जो आए पनि खाने नै हुन् । पुरानाले धेरै खाए, अब नयाँले खाऊन् । जसले जिते पनि खाने नै भएकाले यसपालि घण्टीवाललाई खुवाएर हेरौं न भन्ने लागेको छ ।’ गौरादहमै फ्रेस हाउस सञ्चालन गर्ने ५२ वर्षीय कृष्ण गिरीले भने ओलीका पक्षमा झापा ५ फेरि पनि उभिने दाबी गरे ।
‘यहाँबाट जित्ने ओलीले नै हो,’ उनले ठोकुवा गरे ‘यो कुराका लागि बाजी ठोक्नु परे पनि ठोकौं, म त पैसा खोज्न कुदिपो हाल्छु ।’
गौरादहका यी दुई सर्वसाधारणलाई हामीले उनीहरुको दाबीको आधार के हो भनेर पनि सोधेका थियौं । फुयालको बुझाइमा दक्षिण झापाका आदिवासी जनजाति समुदाय यसपटक नयाँ उम्मेदवारतर्फ आकर्षित देखिन्छन् ।
नयाँ पुस्ताका धेरैले बालेनलाई रुचाएको देखिएको उनले बताए । कारण सोधेपछि उनले आफ्नो अघिल्लो भनाइमा थोरै संशोधन गरे ।
‘ओलीले पनि जित्ने सम्भावना त छ, तर यसपालि उनलाई बालेनले आच्छुआच्छु बनाउँछन्’ उनले भने ।
ओलीको पक्षमै दाबी गरेका गिरीले भने ओली र एमालेको परम्परागत गढ, यसअघि ओलीले प्राप्त गरेको मत अनि उनले गरेको कामका आधारमा जित्ने गरे । उम्मेदवारी दर्ता हुनै लाग्दा ओली र बालेनका समर्थकहरुको दाबी आ–आफ्नो छ ।
सोमबार हामीले भेटेका एक दर्जनभन्दा बढी सर्वसाधारणहरुको भनाइ मिश्रित पाइएको छ ।
बालेनको पक्षमा तर्क गर्नेहरु नयाँलाई हेर्ने भनिरहेका छन् भने ओलीका पक्षमा तर्क गर्नेहरु उनी स्थानीय भएको, काम गरेको जस्ता तर्क अघि सारिरहेका छन् । उनीहरुको यस्तो विचारले पनि देखाउँछ झापा ५ मा यसपटकको चुनावी भीडन्त रोचक हुनेवाला छ ।
झापा–५ मा यसपटक १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । करिब १० हजार नयाँ मतदाता थपिएका छन् । २०७९ को समानुपातिक मत परिणामले पनि संकेत दिएको छ एमालेपछि रास्वपा दोस्रो शक्तिका रूपमा स्थापित भइसकेको छ । त्यसबेला कांग्रेस, माओवादी र राप्रपा पछाडि परेका थिए ।
झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ र गौरीगञ्ज गाउँपालिकाका वडा ३–६ पर्दछन् ।
सहरी–ग्रामीण मिश्रण, वैदेशिक रोजगारीको दबाब, युवा असन्तोष र नयाँ राजनीतिक विकल्पको खोजी—यी सबै तत्वले यो निर्वाचनलाई चाखलाग्दो बनाएको देखिन्छ ।
मंगलबार हुने उम्मेदवारी दर्तासँगै ओली–बालेन भिडन्त औपचारिक रूपमा सुरु हुनेछ । परिणाम के हुन्छ भन्ने प्रश्न भने खुलै छ ।
यहाँका सर्वसाधारणको धारणाले एउटा कुरा भने पक्का रहेको देखाउँछ– झापा–५ मा यसपटक ओलीलाई पहिले झैं सहज छैन । यो क्षेत्रका लागि ‘टुरिस्ट’ उम्मेदवार मानिने बालेनलाई त सहज हुने कुरै भएन ।
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved