विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राका लागि निर्माणाधीन नयाँ रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न गर्नेगरी यतिखेर तीब्र गतिमा निर्माण कार्य हुँदैछ ।
रथयात्राको मिति नजिकिंंदै जाँदा रथको निर्माण कार्यसमेत तीब्र बनाइएको छ । गत बैशाखबाट शुरु भएको नयाँ रथको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यतिखेर बुट्टा कुँदिएका काठका पिलर तथा रेलिङहरुको जडान तथा रथको रंगरोगनको कार्य भइरहेको छ । रथ निर्माणमा झण्डै ३ हजार किलो फलामको प्रयोग गरिएको छ भने लगभग २ सय ५० क्युवि फिट सखुवा तथा सिसौको काठ प्रयोग भएको छ ।
साउन २५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माण समिति र कालीगढहरु अहोरात्र खटिरहेको श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ का अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
रथ निर्माण सम्पन्न भएपछि यसको तौल झण्डै ७ हजार किलोको हुने अनुमान गरिएको छ । विराटनगर महानगरपालिकाको ४४ लाख ७७ हजार लगानीबाट रथको निर्माण कार्य हुँदैछ ।
रथ निर्माणका निम्ति कपिल भण्डारीको संयोजकत्वमा सात सदस्यीय रथ निर्माण समिति गठन गरिएको छ ।
नयाँ रथको काठ सम्बन्धी कामहरु शिवजी शर्मा, फलामको काम विजय राजवंशी र बिजुलीको काम दिनानाथ मण्डलले गरिरहेका छन् भने भारत बंगालका रंजय शर्मा र ग्रामथान झोराहाटका सुशील सरदारले रथमा बुट्टा कुँदने काम गर्दैछन् ।
यसअघि २०२५ सालमा निर्माण भएको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई बिस्थापित गरी नयाँ रथको निर्माण हुँदैछ । नयाँ रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट छ ।
नयाँ रथमा भगवानलाई बिराजमान गराइने कोठा १० फिटको बनाइएकाले दर्शनार्थीले सडकक्षेत्रबाट सहजै दर्शन गर्न पाउने निर्माण समिति सदस्य कमलप्रसाद घिमिरेले बताए ।
रथयात्रामा विविध धर्म समुदायका मानिसहरुको सहभागिता, जातीय, सांस्कृतिक झा“की तथा हेलिकप्टरबाट पुष्पबृष्टि लगायतका कार्यक्रमले यसको भब्यता र गरिमालाई थप बढाउने गरेको छ ।
यसपटक भने भारतको बिहार, पश्चिम बंगाल र सिक्किमका मुख्यमन्त्रीहरुलाई कार्यक्रममा सहभागी गराउने पहल भइरहेको मन्दिर समितिका सचिव कृष्णबहादुर कार्कीले जानकारी दिए ।
View : 632
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved