विराटनगर, २३ मंसिर : कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार विहान देशका पहाडी भूभागमा आंशिक बदली हुने जनाइएको छ ।
विभागले कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको हो ।
दुई दिनयता ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, धुन्सा, लेलेप, ग्याब्ला लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । पाथिभरा क्षेत्रमा समेत हिउँ परिसकेको जनाइएको छ । बिहीबार अपरान्हदेखि परेको बर्षा लगत्तै उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।
इलामको सन्दकपुर क्षेत्रमा पनि हिमपात भएको जनाइएको छ । हिमपातका कारण चिढो अचानक बढेको छ । हिमपातले हिउँ खेल्न रुचाउनेहरु भने खुसी भएका छन् । हिमपातले जमिन भिज्ने भएका कारण किसानलाई पनि फाइदा पुगेको जनाइएको छ ।
अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ । पूर्वी तराईको मोरङसहितका केही जिल्लामा भने बिहानै बाक्लो हुस्सु लागेको लागेको छ ।
यसैगरी शनिबार राती पहाडी भू–भागमा आंशिक बदली रहने छ । नेपालमा अहिले पश्चिमी बायुको आंशिक प्रभाव देखिएको जनाइएको छ ।
View : 124
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved