विराटनगर । भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बिहीबारदेखि लागू भएको जनाइएको छ ।
त्यसैगरी २०८२ असार मसान्तसम्म लागू हुने उक्त सम्झौता अनुसार क्यान्सर रोगको उपचार सेवा प्रदायक भनिएको कोशी अस्पतालले द्विपक्षीय सहमतिका आधारमा स्वास्थ्य सेवा थप गर्दै जाने गरी सेवा सञ्चालनको कार्यतालिका निर्माण गर्ने जनाइएको छ । दुवै अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि २०८१ मार्फत क्यान्सर रोग उपचार सेवा उपलब्ध हुने जनाइएको छ ।
सम्झौता अनुसार अब कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालबाट कम्तिमा हरेक महिना एक पटक आवश्यकता अनुसारका विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा दिने छ । क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने उपकरण र अन्य जनशक्ति कोशी अस्पतालबाटै व्यवस्था गरिने सम्झौता पत्रमा उल्लेख छ ।
कोशी अस्पतालले हाल एन्कोलोजिष्ट विशेषज्ञ चिकित्सक डा. रगिन कठेतको नेतृत्वमा क्यान्सर रोगसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको जनाइएको छ ।
डा. कठेतले हाल कोशी अस्पतालबाट दैनिक ओपिडी सेवाका साथै ब्रेष्ट क्यान्सर सर्जिरी, ग्यास्ट्रो सर्जरी, किड्नी र प्रोष्टेड क्यान्सरको सर्जरी सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
उनले क्यान्सर सेवाको अत्यधिक विस्तार हुँदै गएको बताउँदै भविष्यका लागि अझै धेरै सेवा सुविधा बढाउनु पर्ने आवश्यकता रहेको बताए । साथै कोभिडको महामारीको समयमा बीमा वापतको रकम प्राप्त नगरेको भन्दै मन्त्री पौडेलसामू गुनासो पोखे । त्यसैगरी चार हजार क्यान्सर पीडितले क्यान्सर रोगको उपचार सेवा वापत पाउने सहुलियत रकम प्राप्त गर्न नसकेको पनि ध्यानाकर्षण गराएका थिए ।
मन्त्री पौडेलको अनुगमनका क्रममा कोशी अस्पतालका मेसु डा. रविनराज सिंहले अस्पतालको समसामयिक समस्या सुनाएका थिए ।
मन्त्री पौडेलले बिहीबार नै कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको शैलजा आचार्य मुटु रोग अस्पतालको समेत अनुगमन गरे ।
उनले मुटु रोग उपचारका लागि राम्रो पूर्वाधारयुक्त संरचना बनेको भन्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्दै क्याथल्याबसहितको अस्पताललाई सञ्चालन गर्न तीनै तहको सरकारबीच समन्वय गरी आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
View : 421
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved