Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा फिदिम–म्याङ्लुङ–धनकुटा–धरान रुट सुचारु

उद्‌घोष संवाददाता
२२ असोज २०८२, बुधवार

अवरुद्ध बनेको मेची राजमार्ग ।

तेह्रथुम । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिकमार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ ।  

ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महंगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् ।

पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो ।

तेह्रथुमको म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङ्लुङ आइपुगेको बताइन् । उनले म्याङलुङबाट बसन्तपुर–हिले–धनकुटा–धरान हुँदै काठमाडौं फर्किने बताइन् । 

पाँचथर याङवरकका राजकुमार सेलिङले पनि बैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिंडेको बताए । 

पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुबिधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिकमार्र्गले सहज भएको छ । 

म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार २०० को हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् । 

तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालिगुराँस नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै सडक पक्की छ । 

फेदाप गाउँपालिका–२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप–२ स्थित खोरङ्वा–यावरा १० किलोमिटर कच्ची सडक छ । 

सवारीसाधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको पनि मर्मत गरेको छ । 

तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने दु्रतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । 

ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माइखोलालगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।

View : 292

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved