Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

वीपीमा एकै बर्ष ४२८ जनाको क्यान्सर शल्यक्रिया

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकै आर्थिक वर्षमा क्यान्सर रोग लागेका ४२८ जनाको शल्यक्रिया गरेको छ । त्यसमा क्यान्सर रोगसम्बन्धी विभिन्न २० भन्दा बढी अवस्थाको शल्यक्रिया गरिएको प्रतिष्ठानको भनाइ छ ।

तीन दशकदेखि क्यान्सर रोगको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठानले आर्थिक वर्ष २०८१–०८२ मा ४२८ वटा शल्यक्रिया गरेको प्रवक्ता प्राडा अन्जु प्रधानले बताइन् । 

उनले २ हजार ७२८ जनाको सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी गरिएको जनाएको छ । त्यस्तै ९२२ जनालाई अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी प्रदान गरिएको जनाइएको छ । प्रवक्ता प्रधानले प्रतिष्ठानले क्यान्सरको उपचारमा क्रमैस“ग सेवाको स्तरोन्नति गरिरहेको जानकारी दिइन् ।

प्रतिष्ठानले क्यान्सर उपचार अन्तरगत सबैभन्दा धेरै ८० जनाको ब्रेस्ट तथा इण्डोक्राइन क्यान्सर शल्यक्रिया गरेको छ । 

५४ जनाको ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ४१ जनाको ब्रेन ट्युमर, ४० जनाको प्रि–क्यान्सरस गोइनेकोलोजिकल लिजनको लूप इलेक्ट्रोसर्जिकल इक्सिजन, ३७ जनाको ओरल क्याभिटीको क्यान्सर, ३५ जनाको हेपाटोबिलियरी एण्ड पेंक्रियाटिक क्यान्सर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै ओभेरियन क्यान्सरका २५, यूरिनरी ब्लाडर क्यान्सरका २४, बोन ट्युमरका २१, प्रोष्टेट क्यान्सरका ११, इन्डोमेट्रियल क्यान्सरका १०, सर्भाइकल क्यान्सरका ८, रेनल क्यान्सरका ६, थाइरोइड क्यान्सरका ५, स्पाइन ट्युमर क्यान्सरका ३, भल्भल क्यान्सरका ३, पेनाइल क्यान्सर सम्बन्धित शल्यक्रिया २, मेडियास्टिनल ट्युमरको १ र युरेथ्रल क्यान्सरसम्बन्धी १ जनाको शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले क्यान्सर रोकथाम सम्बन्धी सेवा अन्तरगत क्यान्सर स्क्रिनिङका लागि ओपीडी सेवा, ग्यास्ट्रोइन्टेस्टाइन इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम, भिजुअल इन्स्पेक्स्सन वीथ एसिटिक एसिड, एचपीभी–डिएनए परीक्षण र कोल्पोस्कोपी गर्दै आएको दाबी गरेको छ ।

प्रवक्ता प्रधानले क्यान्सर उपचारका तीनवटा स्तम्भ मध्ये शल्यक्रिया र किमोथेरापीबारे सचेतना वृद्धि भए पनि रेडियोथेरापीका बारेमा अझै पनि सचेतना कम रहेको बताइन् । 

त्यसका लागि सरकारी तहबाटै अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिएको खण्डमा प्रतिष्ठाले समेत आवश्यक सहकार्य गर्ने जनाइएको छ ।

View : 329

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved