विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेशको मंगलबार सम्पन्न प्रथम अधिवेशनले माधवराज थापाको अध्यक्षतामा ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
११ वटा वस्तुगत संगठन, कोशी प्रदेशका १४ वटा जिल्ला र विराटनगर महानगर सहितको प्रतिनिधित्व रहने गरी प्रदेश कमिटी चयन गरेको हो । महासंघको उपाध्यक्ष उमेश घिमिरे, सचिवमा डिल्ली प्रसाद ढकाल र कोषाध्यक्षमा सन्तोष उप्रेती, सहकोषाध्यक्षमा चन्द्रप्रसाद अधिकारी र उपसचिवमा यादव मणि दाहालसहित ११ जना पदाधिकारी चयन भएका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले अर्थतन्त्रलाई चलयमान बनाउन र राष्ट्रिय पूँजी निर्माणमा तीन तहको सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले संघ, प्रदेश र स्थानीय सरकारले अर्थतन्त्रको सवालमा गर्नुपर्ने कामहरुको सवालमा महासंघले पनि पृष्ठपोषण दिनुपर्ने सुझाव दिए ।
मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता हुन नसकिरहेको अवस्थामा त्यसको सिकारमा निजी क्षेत्र परिरहेको बताए । ‘राम्रा नितिहरुको अभावमा, प्रोत्साहनको अभावमा, प्रवर्द्धनको अभावमा निजी क्षेत्रहरु पिल्सिरहेको अवस्था छ’, उनले भने, ‘यसबाट कसरी निजी क्षेत्रलाई माथि उठाउने, समस्याबाट बाहिर कसरी निकाल्ने र ढुक्कले लगानी गर्न सकिन्छ । कसरी अर्थतन्त्रलाई माथि लैजान सकिन्छ र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा तीनै तहको सरकारले ध्यान दिनुपर्छ ।’
उनले निजी क्षेत्रले पनि केही न केही राष्ट्र निर्माणसँगै अर्थतन्त्रलाई माथि उठाउने सवालमा ध्यान दिन जरुरी रहेको बताए ।
नेकपा एमाले सर्वहारा श्रमजीवी, निम्न मध्यम वर्गीय र पूँजीपति लगायत सवैको प्रतिनिधित्व गर्ने पार्टी भएको भन्दै निजी क्षेत्रलाई पनि सँगसँगै अगाडि लैजान एमाले प्रतिवद्ध रहेको उनले बताए । निजी क्षेत्रलाई व्यवस्थित ढंगले संगठित गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको नेतृत्वको लागि एमालेले निजी क्षेत्रलाई एकतावद्ध गरेर लगेको बताए ।
‘समाजवाद अर्थतन्त्र निमार्णको बाटोमा नेकपा एमाले एक्लै हिडिरहेको छ’, राईले भने, ‘राष्ट्रिय पूँजी निमार्णमा पनि नेकपा एमालेसँगै नेपाली कांग्रेसले सहयोग गरिरहेको छ । अन्य राजनीतिक शक्तिहरु अलमलमा छन् । नेकपा एमाले एउटा निश्चित उदेश्य र गन्तव्यको साथमा अगाडि बढिरहेको पार्टी भएको नाताले नीजि क्षेत्रलाई बलियो नबनाई तीन खम्बे अर्थतन्त्र बलियो हुदैन भन्नेमा एमाले छ ।’
अधिवेशनलाई नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे लगायतले सम्बोधन गरेका थिए ।
View : 1088
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved