ग्रामथानमा जनप्रतिनिधिहरूको द्वन्द्वले कर्मचारी चपेटामा
विराटनगर । जनप्रतिनिधिहरूबीचको बेमेल र निरन्तरको झगडा कायमै रहँदा मोरङको ग्रामथान गाउँपालिका अनिर्णयको बन्दी जस्तो बनेको छ ।
अध्यक्ष र उपाध्यक्षबीचको झगडामा पर्न नचाहने कर्मचारीहरू आफू जोगिने उपाय खोज्न लाग्दा कार्यपालिका बैठक बस्नसमेत नसक्ने अवस्था ग्रामथानमा सिर्जना भएको छ ।
अध्यक्ष नमोनारायण माझी यतिबेला चीन भ्रमणमा छन् । उनी हुञ्जेल अनेकौं किचलोमा फस्ने गाउँपालिका यसपटक अध्यक्ष नहुँदै पनि बैठक नै आयोजना गर्न नसक्ने झमेलामा परेको छ ।
अध्यक्ष माझीले उपाध्यक्ष गुणवतीदेवी थारू पालिकामा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएका थिए ।
उनको निर्णयलाई खारेज गर्दै उच्च अदालत विराटनगरले चैत २८ मा अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले जिम्मेवारी सम्हाल्ने आदेश दिएको थियो ।
आदेश अनुसार कार्यवाहक अध्यक्षको कार्यभार सम्हाल्न पाउने अधिकार पाएकी उपाध्यक्ष थारूले बुधबार कार्यपालिका बैठक बोलाइन् । तर, त्यसअघि नै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारी बिदामा बसेका थिए ।
उनले निमित्त दिएर गएका निलेश सापकोटा आठौं तहका लेखा अधिकृत हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका सापकोटा पनि बुधबार दिनभरी मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका थिए ।
यसरी कार्यवाहक अध्यक्षका तर्फबाट बैठकमा एजेन्डा प्रस्तुत गर्ने कर्मचारी नै नभएपछि कार्यपालिका बैठक नै बस्न नसकेको एक वडाध्यक्षले जानकारी दिए ।
‘प्रमुख प्रशासकीय अधिकृत बिदामा भएको र निमित्त पनि दिनभरि बेपत्ता भएपछि बैठक बस्नै सकेन’, ती वडाध्यक्षले भने ‘यसले पालिकामा अनिर्णयको अवस्था सिर्जना भएको छ ।’
ती वडाध्यक्षका अनुसार पालिकाको वडा नम्बर ७ मा केही दिनअघि भएको आगलागीको घटना र नयाँ वर्षको शुभकामना बैठकका एजेन्डा थिए । तर, कर्मचारी नभएपछि बैठक नै हुन सकेन ।
अध्यक्ष नभएको बेलामा आफूलाई एकै वचन पनि नसोधी प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको भन्दै उपाध्यक्ष थारू आक्रोशित बनेकी थिइन् ।
‘हाकिम कसको सल्लाहमा बिदा बसेको हो ? मुखले बिदा भनेर हुन्छ कि सल्लाह गर्नुपर्छ ?’, उनले बैठकमा भनेको भनाइ उद्धृत गर्दै ती वडाध्यक्षले भने ‘निमित्त पनि बिना जानकारी अनुपस्थित हुने के पारा हो यो । म उनीहरूलाई स्पष्टीकरण सोध्नेछु ।’
उपाध्यक्ष थारूले प्रमुख प्रशासकीय अधिकृत भण्डारी बैठक राख्न डराएर बिदा बसेको आरोप लगाएकी थिइन् । ‘होइन भने अध्यक्ष नहुँदा मसँग सल्लाह गर्नुपर्छ कि पर्दैन ? कि चीनबाटै विदाको स्वीकृति आयो ?’
बैठकमा उपाध्यक्ष थारूले अध्यक्ष माझीले पालिकामा अराजकता प्रदर्शन गरेको भन्दै असन्तोष प्रकट गरेकी थिइन् ।
आफू पालिकामा भएकै बेलामा वडाध्यक्षलाई कार्यवाहकको जिम्मा दिने अध्यक्षको कदमविरूद्ध अदालत गएर जित हासिल गरेकी उनले अब कर्मचारीलाई स्पष्टीकरण सोध्ने बताएकी थिइन् । उनले बैशाख १८ गते अर्को बैठक बोलाएकी छन् ।
पालिकाका सूचना अधिकारी नारायण चौधरीले चाहिँ बैठक सकिएको जानकारी दिए । उनले प्रमुख प्रशासकीय अधिकृत चैत ३१ देखि बिदामा बसेको र निमित्त पाएका लेखा अधिृकत पनि विरामी भएर नआएको दाबी गरे ।
‘भण्डारी सर ३१ गतेदेखि विदामा हुनुहुन्थ्यो, निमित्त सर आउनु भएको थिएन, विरामी छु भन्नुहुन्थ्यो’, उनले भने ‘त्यसैले नआउनुभएको होला ।’
View : 211
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved