विराटनगर । विराटनगर महानगरपालिकास्तरीय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता– २०८२ सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा बुधबार विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख एवम् प्रतियोगिता निर्देशन समितिका संयोजक नागेश कोइरालाले रनिङ शिल्डमा महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको आकर्षण बढ्नु खेलकुद क्षेत्रका लागि सुखद भएको बताए ।
उनले रनिङ शिल्ड जस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धाप्रति सकारात्मक धारणा विकसित गर्नेमा आशावादी रहेको बताए ।
प्रतियोगिताको संयोजन गरेकोमा एभरेष्ट माध्यमिक विद्यालयलाई प्रमुख कोइरालाले धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा प्रतियोगिताको संयोजन गरिरहेको एभरेष्ट माविका प्राचार्य टिकाराम पुरीले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गर्ने थलोको रुपमा विकसित भएको बताए ।
पुरीले महानगरका विद्यालयहरूले एभरेष्टप्रति विश्वास गर्दै प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे ।
पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
त्यस्तै पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोस्रो र पोखरिया माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन् । मार्चपासमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यालयले प्रमाणपत्रसहित क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गरेका छन् ।
पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिका क्षेत्रका ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ भने प्रतियोगितामा छात्रको ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ ।
View : 89
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved