Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

छाला उद्योगको दुर्गन्ध रोक्न स्थानीय आन्दोलित

उद्‌घोष सम्वाददाता
२२ साउन २०८१, मङ्गलवार

सुनसरी । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गत दुहबी– ६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्किने दुर्गन्धले नगरबासी बिरामी पर्न थालेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । दुहबी–६ मा सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै बिस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरू उद्योग बिरूद्ध आन्दोलत बनेका हुन् । 

भैंसी तथा राँगालगायतका जनावरको छाला प्रशोधन गर्ने ती दुईवटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण दुहबी वडा नम्बर ६ का बासिन्दा पीडित भएका हुन् । उद्योगको छालाको प्रशोधन तथा भण्डारण वातावरण मैत्री नभएकोले वरिपरीको बस्तीमा दुर्गन्ध फैलिने गरेको छ ।

उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल सिधै स्थानीय बुढीखोलामा मिसाउने गरेको छ भने राँगा तथा भैंसीको छाला उद्योग कम्पाउण्डमै खुल्लारूपमा सुकाउने गर्दा दुर्गन्ध फैलिने गरेको छ ।

उद्योगबाट फैलिने दुर्गन्ध र फोहरले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको स्थानीय कुन्दन पासवानले बताए । माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले बारम्बार लापर्वाही गर्ने गरेको पासवानको भनाइ छ । 

उद्योगबाट निस्कने दुर्गन्धले गर्दा घरमा कोही पनि पाहुना आउन नमान्ने गरेको अर्का स्थानीय मोहम्मद सलमानले बताए । 

प्रदुषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले बिभिन्न निकायमा उजुरी दिए पनि सुनुवाई तथा उद्योगी विरूद्ध कुनै कारवाही नभएकोमा स्थानीय आक्रोशित बनेको सलमानले बताए । 

स्थानीयले पटकपटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उपप्रमुख सहितको न्यायिक समितिले सोमबार उद्योगको अनुगमन गरेको छ । 

अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालनमा रहेको उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन् । 

उनले भनिन्– ‘उद्योग पूरै लापर्वाही किसिमले सञ्चालनमा रहेछ, दुर्गन्ध फैलिएर स्थानीय आजित रहेछन् कारवाही गर्नुको विकल्प छैन, दुर्गन्धित अवस्थामा सञ्चालित उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्छौं ।’

उद्योगको कागजपत्रसमेत चुस्त दुरूस्त नराखिएको तथा नविकरण र करसमेत नतिरेको पाइएकाले सञ्चालकलाई मंगलबार कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले जानकारी दिइन् । 

तीन दशकअघि स्थापना भएको यी उद्योग बीचबीचमा बन्द हुँदै सञ्चालनमा आएका थिए । 

विगतमा पनि मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै उद्योगलाई पटकपटक जरिवाना गरेपनि अटेर गर्ने गरेको दुहबी–६ का वडाध्यक्ष घनश्याम हलुवाईले बताए ।

View : 230

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved