Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मोबाइल चोरीका घटना बृद्धि

उद्‌घोष सम्वाददाता
४ कार्तिक २०८०, शनिवार

झापा : पछिल्लो समय झापामा मोबाइल चोरीका घटनामा बृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोडसहित विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बरामद गरेको सात र फेला पारेको ११ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख छ ।

चोरीमा संलग्नहरूले घरमा कोही नभएको मौका पारी तथा बिहानको समयमा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

बिहानको समयमा मर्निङवाकमा निस्कने समयमा चोरले दाउ हेर्ने र मोबाइल चोरी गरेर फरार हुने तथा रातको समयमा झ्याल ढोका खुल्ला राखेर सुत्ने गर्दा चोरले सहजै रुपमा मोबाइल चोरी गर्ने गरेको पाइएको डीएसपी कार्कीले बताए । चोरीका घटनामा बृद्धि भएको जनगुनासो बढेसँगै विभिन्न समयमा प्रहरी गस्ती टोली खटिने गरेको जनाइएको छ । 

चाडपर्वको समयमा चोरीका घटनामा बृद्धि हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै निगरानी बढाएको र शंकास्पद गतिविधि गरेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न डीएसपी कार्कीले आग्रह गरेका छन् ।

विगतमा आईएमईआई कोडका आधारमा चोरिएको मोबाइल सजिलै भेटिनेमा अहिले अन्तरदेशीय ट्रेस सिस्टम नहुँदा मोबाइल भेटिन मुस्किल भएको प्रहरीले जनाएको छ । पहिले चोरी भएका मोबाइल नेपालमै सस्तो मूल्यमा बिक्री हुने गरेका थिए ।

मोबाइलमा कुनै सिम लगाउने बित्तिकै खोजी गर्दा भेटिन्थ्यो । तर, अहिले नेपालमा चोरी भएको मोबाइल विभिन्न माध्यमबाट भारतलगायतका देशहरूमा लगिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

View : 210

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved