Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

‘दाना’ आँधीको असर नेपालसम्मै, पाकेको धानबालीलाई क्षति पुग्नसक्ने

उद्घोष सम्वाददाता
९ कार्तिक २०८१, शुक्रवार

विराटनगर । ‘दाना’ नामकरण गरिएको ठूलो आँधी र त्यसले भीषण वर्षा निम्त्याउने अनुमान गरिएको चक्रवातको केही असर कोशी प्रदेशमा पर्ने भएको छ । बंगलादेश र भारतको पूर्वी तटीय क्षेत्रमा भने यो आँधीको असर देखिएको छ । 

नेपालमा भने कोशी प्रदेशमा असर देखिने मौसमविद्हरूले अनुमान गरिरहेका छन् । शुक्रबार विहानैदेखि कोशी प्रदेशको मौसममा आकस्मिक परिवर्तन देखिएको छ । बादलले आकास डम्म छ । यसलाई मौसमविद्हरूले दाना आँधी र त्यसपछिको चक्रवातको परिणाम भएको बताएका छन् ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । बंगालको खाडीमा उत्पन्न भएको दाना आँधीका कारण कोशी प्रदेशमा असर देखिएको उल्लेख गरेको छ ।

दानी आँधीको सवैभन्दा ठुलो असर पुर्वी नेपालमा लगाइएको धानबालीमा पर्नसक्ने चेतावनी दिइएको छ । विविसी नेपालीले सार्वजनिक गरेको समाचार अनुसार कृषकहरूले धान काट्न थालिसकेको समयमा उत्पन्न भएको यो आँधी पश्चात बर्षातको अनुमान गरिएको छ ।

दानी आँधी र त्यसपछिको बर्षातले झापा, मोरङ र सुनसरीमा काट्न तयार भएको र काटिसकेको धानबालीमा ठुलो क्षति पनि पुग्न सक्ने जनाइएको छ ।

काटिसकेको धानमा वर्षाले सवैभन्दा ठुलो असर पुर्याउन सक्ने भन्दै मौसमविद्हरूले सावधानी अपनाउन चेतावनी दिएका हुन् ।

नेपालबाट मनसुन भने साधारण समयभन्दा १० दिन ढिलो गरेर अक्टोबर १२ मै बाहिरिसकेको छ ।

नेपालमा समेत असर पुर्‌याउने अनुमान गरिएको दानी आँधी र चक्रवातको बाटो पर्ने भारतको पश्चिम बंगाल राज्यका विभिन्न ठाउँबाट झन्डै डेढ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय संचार माध्यमहरूले बताएका छन् ।

दाना आँधी ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा गएराती बज्रिएको भारतीय न्यूज च्यानल आजतकले जनाएको छ । त्यस क्षेत्रमा भारत सरकारले रेल सेवा बन्द गरेको छ । कोलकातामा राति हुने उडानहरू स्थगित गरिएका छन् ।

उक्त आँधीको गति १०० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहने भनिएको छ ।

View : 347

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved