Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट ट्रेड एक्स्पो–२०२५ : विद्यार्थीले तयार गर्नेछन् ‘बिज्नेश आइडिया’

स्टार्टअप फेस्ट अन्तरगत नयाँ व्यवसायिक सोच बनाइरहेका युवा, विद्यार्थी तथा नव–उद्यमीहरूले आफ्ना सोच प्रस्तुत गर्ने र उत्कृष्ट २५ वटा व्यवसायिक सोचहरूलाई मागदर्शन गर्दै उद्यमशीलताको अवसरसम्म पुर्याइने लक्ष्य रहेको संघका अध्यक्ष अनुपम राठीले बताए ।
उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

विराटनगर । विराटनगर–२ शान्ति चोकमा पुस ९ गतेदेखि सुरु हुने ‘विराट ट्रेड एक्स्पो २०२५’ को तयारी जारी रहँदा युवा र विद्यार्थीहरूले तयार पारेको उद्यमशीलता, नवप्रवर्तन र नयाँ सोचलाई ‘बिज्नेश आइडिया’ का रुपमा प्रस्तुत गरिने भएको छ । 

एक्स्पोलाई व्यापार र प्रदर्शनीमा मात्रै केन्द्रित नगरी नवउद्यमीको खोजी गर्ने थलोको रुपमा ‘विराट ट्रेड एक्स्पो स्टार्टअप फेस्ट’ अर्थात ‘वीटीई स्टार्टअप फेस्ट–२०२५’ गर्न लागिएको जनाइएको छ ।

मोरङ उद्योग व्यापार संघको आयोजना र आइडिया स्टुडियोसँगको सहकार्यमा स्टार्टअप फेस्टको तयारी अघि बढेको हो । 

स्टार्टअप फेस्ट अन्तरगत नयाँ व्यवसायिक सोच बनाइरहेका युवा, विद्यार्थी तथा नव–उद्यमीहरूले आफ्ना सोच प्रस्तुत गर्ने र उत्कृष्ट २५ वटा व्यवसायिक सोचहरूलाई मागदर्शन गर्दै उद्यमशीलताको अवसरसम्म पुर्याइने लक्ष्य रहेको संघका अध्यक्ष अनुपम राठीले बताए । 

उनले त्यसरी प्रस्तुत भएका व्यवसायिक सोचहरूलाई लगानीकर्ताहरूबीचको सशक्त नेटवर्कमा पु¥याउने, क्षमता विकास गर्ने र दीर्घकालीन रुपमा व्यवसायिक अवसरहरू प्राप्त गर्ने जानकारी दिए । यसका लागि सहभागी हुने युवा विद्यार्थीहरूलाई मंसिर ११ गते छनौट पूरा गरी आफ्नो व्यवसायिक सोचको प्रत्यक्ष रुपमा प्रस्तुतिकरण गरिने कार्यक्रम तय भएको बताए ।

‘अहिले कलेज पढिरहेका विद्यार्थीहरू नै भविष्यका सफल उद्यमी हुन् भन्ने भावनाका साथ हामीले एक्स्पोभित्र महत्वका साथ स्टार्टअप फेस्ट राखेका छौं’ अध्यक्ष राठीले भने, ‘प्राप्त भएका आवेदनहरूबाट २५ जनाको व्यवसायिक सोचलाई हामीले एउटा डालोमा हालेर अघि बढाउँछौं, उनीहरूले आफ्नो सोचको औचित्यबारे प्रस्तुतिकरण गर्नेछन्, व्यवसाय निर्माणदेखि स्थापनासम्मको प्रक्रियामा हामी सबै प्रकारले सहजिकरण गर्नेछौं ।’

छनौट भएका सहभागीहरूलाई ‘इन्क्युवेशन’ तथा ‘बुटक्याम्प’ संघकै कार्यालयस्थित सभाहलमा सञ्चालन गरिने जनाइएको छ । अन्तिम चरणमा पुगेका सहभागीहरूको ‘फाइनल बिज्नेस पिच’ भने एक्स्पो स्थलमै पुस १५ गते हुनेछ ।

अध्यक्ष राठीले उद्यमशीलताको विकासका लागि संघले चाँडै इन्क्युवेशन सेन्टर स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । जहाँबाट दीर्घकालीन रुपमा उद्योग व्यवसायको सोच, लगानी सहजिकरण, स्थापना र उद्योग स्थापनापछि आवश्यक पर्ने प्राविधिक सहयोग समेत उपलब्ध गराउन सहज हुने बताए । 

यस्तो अवसरका कारण उद्योग तथा व्यापार व्यवसायप्रति रुचि भएका युवायुवतीहरूले आफ्नो प्रदेशभित्रै नयाँ उद्यमशील संस्कृति विकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका कार्यकारी निर्देशक भरत शर्मा प्रसाईँले बताए ।

तयारी अन्तिम चरणमा : संयोजक सारडा

१० दिने विराट ट्रेड एक्स्पोको आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको एक्स्पोका संयोजक अमितकुमार सारडाले जानकारी दिए । 
उनले एक्स्पो स्थलमा मुख्य व्यवसायिक प्रदर्शन तथा बिक्री कक्ष रहने तीनवटा सुविधा सम्पन्न ‘डोम’भित्र अधिकांश स्टल बुकिङ भइसकेको बताए । एक्स्पोमा ७० प्रतिशत स्वदेशी वस्तु रहनेछन् ।
अटो मोबाइल्सतर्फ सबै १८ वटा स्टल बुकिङ भइसकेको उनले बताए । त्यस्तै खाद्य परिकारतर्फ पनि सबै १६ वटा स्टलको बुकिङ पूरा भएको छ । खाद्यान्नतर्फ भेज र ननभेज गरी सबै प्रकारका परिकार पाउने व्यवस्था गरिएको हो । एक्स्पोमा २३० वटा स्टल रहेका छन् ।
एक्स्पोका डाइमण्ड र गोल्ड स्पन्सरका लागि उपयुक्त स्थानमा प्रदर्शनी र बिक्री कक्षको व्यवस्था मिलाएको संयोजक सारडाले बताए ।
‘मुख्य तीनवटा डोम रहेका छन्, यहाँ रहेका अधिकांश स्टलको बुकिङ सकिएको छ, यसपटक हामीले कुनैपनि उद्योग वा उद्यमीले आफ्नो उत्पादनको लञ्च गर्न चाहेमा सेमिनार हलको समेत प्रबन्ध गरेका छौं’ संयोजक सारडाले भने, ‘विराटनगरमा हुने गरेका एक्स्पोहरूमध्ये संघले यसपटक सबैभन्दा ठूलो स्थानमा एक्स्पो गर्दैछ, तयारी पनि उत्कृष्ट रुपमा भइरहेको छ ।’
एक्स्पोमा हरेक दिन अपरान्ह १ देखि २ः३० बजेसम्म विद्यार्थीहरूलाई विद्यालयको पोशाकमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए । ३ देखि ४ बजेसम्म मुख्य स्टेजमा नृत्य प्रतियोगिता हुनेछ । त्यस्तै, अपरान्ह ४ देखि ५ बजेको समयमा ‘विराट भ्वाइस’ नामक गायन शो सञ्चालन हुने जनाइएको छ ।
संघले कोशी प्रदेश सरकारले प्रवद्र्धन गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ लाई थप प्रवद्र्धन गर्ने उद्देश्यले बेलुका ५ देखि ६ बजेसम्म पर्यटन विशेष कार्यक्रम गर्ने र ६ बजेदेखि राति ८ बजेसम्म राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ ।

View : 243

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved