जलेश्वर, २३ भदौ । महोत्तरीसहित मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदैछ ।
आज बिहानै मिथिला क्षेत्रका महिला घरघरमा ठेकुवा (सख्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउ, अक्षता, सुपारी र पानसहितका वस्तुहरु जुटाएर रैब पर्व मनाइरहेका छन् ।
पूजा सामग्री तयार गरिसकेपछि महिला सबै सामग्री डालामा हालेर नजिकैको पोखरी, तलाऊ वा नदीमा गएर नुहाएर सोही स्थानमा भिजेको लुगामा हातहातमा पूजा सामग्री लिएर सूर्य देवतालाई अर्घ दिँदै रैब पर्व मनाइरहेका हुन् ।
रैब पर्व सूर्य देवताको पूजा उपासना गरी मनाइने गरिन्छ ।
भदौ महिनामा यो पर्व मनाइने भएकाले यसलाई भदैया रैब भनिएको स्थानीय बताउँछन् ।
पोखरी, तलाऊ वा नदीमा स्नानगरी, सूर्य देवतलाई पूजा सामग्रीको अर्घ दिएर वर्तालुहरु आआफ्ना घर गएर आँगन वा पिँढीमा पुनः नेउज (प्रसाद चढाउने) हाल्ने गर्दछन् ।
नेउजको हाल्ने क्रममा वर्तालुहरु भूइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सख्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् ।
यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुई वटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गनुपर्छ ।
नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) वर्तालुले फलफूल ग्रहण गर्दछन् ।
आज राति उनीहरुले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ) लगायतका परिकार खाएर बस्नुपर्छ ।
यसपर्व मिथिलाका महिलाले मनाउने गर्दछन् ।
यस पर्व सुख, समृद्धि र आरोग्यताका लागि मनाउने गरिन्छ । रासस
View : 412
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved