विराटनगर । बिहीबारदेखि तामाङ समुदायको ल्होछार पर्व शुरू भएको छ । प्रत्येक वर्ष माघ शुल्क प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ । नयाँ वर्षको स्वागतको रूपमा यो पर्व मनाउने गरिन्छ ।
तामाङ समुदायले आफ्नो नयाँ वर्ष २८६१ औं सोनाम लोसार बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । लोसार शब्दमा ‘लो’ को अर्थ वर्ष तथा ‘सार’ को अर्थ नयाँ हो ।
यो पर्वको अवसरमा तामाङ समुदायले एकआपसमा शुभकामना आदानप्रदान तथा खुशियाली साटासाट गर्ने गर्छन् । सो अवसरमा नेपाल तामाङ घेदुङले विराटनगरमा सांस्कृतिक र्यालीसहितका विविध कार्यक्रम गरेको छ ।
घेदुङको आयोजनामा स्थानीय जनआन्दोलन चोकबाट र्याली निकालिएको छ । र्यालीले महानगरका विभिन्न भागको परिक्रमा गर्दै वडानम्बर ७ हाटखोलामा रहेको हरियाली पार्कसम्म पुगेको थियो । र्याली समापनसँगै पार्क परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
ल्होसार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्रवटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, बिरालो, गरूड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।
बाह्र वर्गका वर्षहरूलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।
जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा रहेको नेपाल तामाङ घेदुङ महानगर समितिका संस्थापक अध्यक्ष कृष्ण मोक्तानले बताए ।
यस वर्ष सर्प वर्षलाई स्वागत गरिदैछ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् ।
जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ ।
पर्वको अवरमा मीठा–मीठा खानेकुरा पकाएर खाने तथा साथीभाइ भेटघाट गर्ने र सार्वजनिक स्थानमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनोरञ्जन गर्ने चलन रहेको आयोजक संस्थाकी अध्यक्ष बिष्णु पाख्रिनले जानकारी दिइन् ।
तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कुलपूजा र प्रकृतिको समेत पूजा गर्ने गर्दछन् । ल्होसारको दिन तामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ । साथै गुम्वामा जम्मा भएर एक आपसमा शुभकामना आदानप्रदान तथा विशेष प्रार्थनाको आयोजना समेत गरिन्छ ।
अधिकांश मानिस खेती किसानीमा नै निर्भर भएकाले खेती किसानीको काम सुरू गर्ने समय माघ महिनामा यो चाड पर्ने र मनाइने गरेको बताइन्छ ।
View : 24
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved