Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

वर्तमान सरकार ढल्दैन : कोइराला

उद्‌घोष सम्वाददाता
४ कार्तिक २०८१, आइतवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल नढल्ने बताएका छन् ।  सरकार ढल्छ कि भनेर सपना नदेख्न पनि उनले विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । 

शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको बताए ।

उनले आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताए । तर सरकारले उद्देश्यअनुरुप काम गर्न नसककेको भन्दै आलोचना पनि गरे ।

गाडीमा झण्डा हल्लाउँदै हिंड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार नबनेको उनको भनाइ छ ।  

कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । 

सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, महासमिति सदस्य मानबहादुर लिम्बू, वसन्त भट्टराई, क्षेत्र नम्बर १ का सभापति शंकर राई, सैनिक संघका केन्द्रीय सभापति मेघराज टण्डन, निवर्तमान सभापति कर्णेल धनबहादुर राना, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

View : 141

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved