एनपीएल क्रिकेट :
विराटनगर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदा त्यसको फाइदा विराटनगर किंग्सलाई भएको छ । सुदूरपश्चिम लगातार दोस्रो वर्ष एनपीएल क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले बिहीबार चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै आफूले अहिलेसम्म खेलेका सबै खेल जितेको छ ।
सुदुरको बिहीबारको जीतको फाइदा भने विराटनगरले पनि लिएको छ । अब विराटनगर किंग्स पनि प्लेअफमा सुरक्षित भएको छ । सुदूरपश्चिमको १२, काठमाडौं गोर्खाजको १० र विराटनगरको ८ अंक छ । काठमाडौं र विराटनगर पहिलो पटक प्ले अफ पुगेका हुन् ।
विराटनगर किंग्सले एनपीएलको पहिलो सिजनमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर, यसपटक ४ जीत र २ हारसहित उसले एक खेल अगावै प्लेअफमा स्थान बनाएको छ ।
अब काठमाडौं र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर–१ मा खेल्ने छन् । विराटनगरले शनिबार हुने खेलमा सुदूरपश्चिमलाई ठूलो अन्तरले पराजित गरेमात्र काठमाडौंलाई नेट रन रेटमा उछिन्ने सम्भावना रहन्छ ।
लुम्बिनी लायन्सले शुक्रबार हुने खेलमा जनकपुर बोल्टलाई पराजित गरेमा चौथो टोलीका रूपमा प्लेअफ पुग्ने छ । अन्यथा लुम्बिनी, जनकपुर, चितवन र पोखरा एभेन्जर्समध्येको १ टोलीको प्लेअफमा पुग्ने सम्भावना कायमै रहनेछ ।
१ सय ७० रनको विजय लक्ष्य लिएर आएको चितवन त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १७ दशमलव १ ओभरमा १ सय २० रनमा अलआउट भयो ।
भेट्रान रवि बोपाराले चितवनबाट सर्वाधिक २९ रन बनाए ।
देव खनाल १९ बलमा ३ चौका प्रहार गरी २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, डेविड मलान र सैफ जैब समान ६, अमरसिंह रौटेला ९ रनमा आउट भए ।
सुदूरपश्चिमका पुनित मेहराले ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, इशान पाण्डे र प्रतियोगितामा पहिलो खेल खेलिरहेका हिक्मत महराले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर क्रिस लिनको ७५ रनमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ रन ६९ बनाएको थियो ।
यसअघि बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज प्ले अफ प्रवेश गर्ने दोस्रो टोली बनेको थियो । सुदूरपश्चिम रोयल्सले यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ ।
पहिलो खेलमा पोखरलाई हराउँदै काठमाडौं प्लेअफमा प्रवेश गरेको हो । उसका लागि साहब आलमले एनपीएलकै पहिलो ह्याट्रिकसहित ६ विकेट लिंदै शानदार प्रदर्शन गरेका थिए । काठमाडौंले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको हो ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा जम्मा १ सय ५२ रन मात्रै बनाउन सक्यो । सुरूवातमै एडम रोसिङ्टन ५ रनमा आउट भएपछि दबाबमा पुगेको पोखराले पावरप्लेमा ३७ रन मात्र जोड्यो । जेशन रोए १६, त्रितराज जोशी ९ र कप्तान कुशल भुर्तेल २२ रनमा आउट भए ।
धनञ्जय लक्सम र ऋषि धवनले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै आश जगाए । ऋषिले ३१ बलमा ५४ रन बनाउँदै अर्धशतक पूरा गरे ।
तर अन्तिम ओभरमा २० रन चाहिएको स्थितिमा साहब आलमले पहिलो बलमै ऋषिलाई, दोस्रो बलमा विपिनलाई र तेस्रो बलमा आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । यो एनपीएलको पहिलो ह्याट्रिक हो । साहबले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । करण र सनि पटेलले २–२ विकेट पाए ।
पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर आकाश त्रिपाठी गोल्डेन डकमा आउट भए ।
बेन चाल्र्सवर्थले ४८ बलमा ६४ रन र भीम सार्कीले १९ बलमा ५५ रन बनाउँदै उत्कृष्ट अर्धशतक प्रहार गरे । पोखराका धनञ्जय लक्समले ४ विकेट लिए । ६ खेलपछि पोखराले ४ अंक मात्र जोडेको छ ।
View : 264
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved