विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सोमबार निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरेका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ वटै राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै बैठक गरी छलफल गरिने उनले बताए ।
कोशी प्रदेशमा एक महिला र एक अन्य गरी दुई पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि सुरु हुने छ ।
निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरी ३६७ जना मतदाता रहेको सुवेदीले बताए ।
माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिए ।
प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल आगामी फागुन २० गतेदेखि सकिदैछ ।
View : 141
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved