विराटनगर । कोशी प्रदेशमा समायोजन भएर कार्यरत रहेका दशौं तहका स्वास्थ्य कर्मचारीहरूले एघारौं तहमा बढुवाको माग गरेका छन् । विद्यमान कानुनी व्यवस्थाले दशौं तहबाटै अवकास हुने व्यवस्था गरेकोले प्रदेश निजामति सेवा ऐनको संशोधनको प्रक्रियामा रहेको बेला यस्तो माग गरेका हुन् ।
कोशी प्रदेशसभामा टेबुल भएको प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८१ छलफलको क्रममा रहेको छ ।
उक्त विधेयकलाई संशोधन गरी दशौं तहका निर्देशनालयको प्रमुखको तहमा रहेका कर्मचारीहरूलाई एघारौं तहमा बढुवा हुने बाटो खोल्नुपर्ने कर्मचारीहरूले माग गरेका हुन् । उनीहरूले ऐन संशोधनमार्फत एघारौं तहमा समूहकृत नगरीकन बढुवा गर्ने व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख एवं कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले विगतमा ऐन ल्याउँदा स्वास्थ्य क्षेत्रका सरोकारवालासँग सम्बोधन नै नगरी ल्याएका कारण समस्या उत्पन्न भएको बताए । उनले ऐन ल्याउँदा सवै क्षेत्रका सरोकारवालासँग छलफल गर्नुपर्नेमा त्यसो नगरिएको दाबी गरे ।
त्यसैको परिणाम दशौं तहमा रहेका आफूहरू प्रदेशमा समायोजन भएर आएकै कारण बढुवा हुन नपाउने र बृत्तिविकास प्रभावित हुने अवस्था बनेको गुनासो गरे ।
‘ऐन ल्याउँदा पनि सरोकारवालासँग छलफल गर्नुपर्नेमा त्यसो गरिएन, हाम्रो कुनैपनि सम्बोधन गरिएन’ उनले भने, ऐनबाट उत्पन्न समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ, यो काम प्रदेशलाई सस्टेन गर्न पनि गर्नुपर्छ ।’ आफूहरूले प्रदेशप्रति विश्वास गरेर आएपनि बृत्ति विकासको बेलामा भने गलत व्याख्या गरिंदै आएको बताए ।
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत चारवटा निर्देशनालय स्तरका कार्यालय छन् । ती कार्यालयहरूमा दशौं तहका कर्मचारीले निमित्त भएर काम गर्दै आएका छन् ।
प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगर, स्वास्थ्य निर्देशनालय धनकुटा र प्रदेश स्वास्थ्य प्रयोगशाला विराटनगरमा ११ औं तहको व्यक्ति प्रमुख हुने व्यवस्था छ । तर ती कार्यालयमा दशौं तहमा रहेकाले निमित्त भएर काम गर्दै आएका छन् ।
सरकारले एघारौं तहको कार्यालय प्रमुख रहने गरिएका आठवटा कार्यालय भने यसअघि नै हटाइसकेको जनाइएको छ । कर्मचारीहरूले अहिलेकै अवस्थामा प्रदेश सभाबाट निजामति कर्मचारी संशोधन विधेयक पारित भएमा आफूहरू दशौं तहबाटै अवकास हुनुपर्ने गुनासो गरेका छन् ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले कोशी प्रदेशको समग्र स्वास्थ्य सेवामै ४९ प्रतिशत पदहरू रिक्त रहेको अवस्थामा सरकारले कर्मचारीहरूको बढुवाको प्रक्रियालाई विनाकारण रोकेको बताए ।
उनले निमित्तको भरमा प्रदेशका कार्यालय सञ्चालन गर्ने परिपाटी अन्त्य गर्नका लागि बढुवाको व्यवस्था गरी समायोजन गर्न माग गरे ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख एवं स्वास्थ्य मन्त्रालय कोशीका प्रवक्ता डा. सुरेश मेहताले दशौं तहका कर्मचारीले निमित्त भएर चलाइरहेका कार्यालयमा बढुवाको माध्यमबाट अब एघारौं तहको कर्मचारी व्यवस्था गर्न आग्रह गरे ।
उनले यस्तै अवस्थामा बाग्मती प्रदेशमा भने कर्मचारीहरूलाई कुनैपनि समस्या नहुने गरी ऐन आएको दृष्टान्त दिंदै त्यसका आधारमा अघि बढ्न सकिने बताए ।
प्रदेशको कर्मचारी दरबन्दी व्यवस्थापनको काम गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले झने कर्मचारीहरूको व्यक्ति व्यत्तिको समस्या हेरेर समाधान गर्न नसकिने जवाफ दिंदै आएको छ । प्रमुख सचिवले नै कर्मचारीको बृत्ति विकासका लागि अवरोध गर्ने गरेको पीडित कर्मचारीहरूले दाबी गरेका हुन् ।
View : 216
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved