विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को सेवा आयोगमा लामो समयदेखि रिक्त रहेका नेतृत्व पदहरूमा अध्यक्ष प्रा. देवेन्द्र अधिकारी र सदस्य प्रा. समी लामाले आइतबार कार्यभार सम्हालेका छन्। यसले गत एक वर्षदेखि थन्किएका शिक्षक तथा कर्मचारीको वृत्ति विकास, पदोन्नति र आन्तरिक बढुवाका प्रक्रियाहरूलाई गति मिल्ने विश्वविद्यालय परिवारले आशा व्यक्त गरेको छ।
गोठगाउँस्थित सेवा आयोग कार्यालयमा भएको विशेष समारोहमा पदस्थापन गर्दै उपकुलपति प्रा. विजुकुमार थपलियाले सेवा आयोगको सक्रियतालाई विश्वविद्यालयको प्राज्ञिक र प्रशासनिक सुदृढीकरणको लागि अनिवार्य बताए। “आयोगलाई आवश्यक हरेक सहयोग र समन्वयका लागि विश्वविद्यालय प्रतिबद्ध छ,” उनले जोड दिए।
विश्वविद्यालयकी रजिष्ट्रार प्रा. कल्याणी मिश्र त्रिपाठीले प्राध्यापक र कर्मचारीबीचको समन्वयबाट जटिल कामहरू सहज हुने विश्वास व्यक्त गरिन् भने प्राध्यापक संघका नरेशकुमार साह र कर्मचारी संघका रुपेश बस्नेतले नयाँ नेतृत्वलाई स्वागत गर्दै थन्किएका फाइलहरूलाई प्राथमिकतामा राख्न आग्रह गरे।
नवनियुक्त अध्यक्ष अधिकारी र सदस्य लामाले आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता जाहेर गर्दै विश्वविद्यालयको ऐन–नियम र शैक्षिक क्यालेन्डरअनुसार वृत्ति विकासका कार्यहरू निष्पक्ष र समयमै पूरा गर्ने प्रतिज्ञा गरे। उनीहरूले सबै पक्षको सहयोगको अपेक्षा पनि गरेका छन्।
पूवि प्राध्यापक संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद जम्मरकट्टेलले सेवा आयोगले नेतृत्व पाएपछि विश्वविद्यालय परिवारमा उत्साह र भरोसा बढेको साथै सेवा आयोगको नयाँ टोलीले विश्वविद्यालयको श्रीवृद्धिमा केन्द्रित रही कार्यगत अवरोधहरू हटाउने अपेक्षा सम्पूर्ण समुदायले गरेको प्रतिक्रिया दिए ।
View : 288
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved