प्रतिनिधिसभा निर्वाचनः
विराटनगर । प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनका लागि मोरङको क्षेत्र नम्बर ५ विभिन्न कारणले चर्चामा छ ।
२०७९ मा स्वतन्त्र उठेर मोरङ ५ बाट विजेता बनेका योगेन्द्र मण्डल यसपटक आफै दल खोलेर चुनावी मैदानमा छन् । यसपटक सबै दलहरु एक्लै प्रतिस्पर्धामा भएका कारण पनि यो क्षेत्रमा धेरैको नजर छ ।
मोरङ ५ मा यसपटक एउटा रमाइलो संयोगले पनि ध्यान तानेको छ, उम्मेद्वारहरुको नाम ।
दल, विचारधारा र संगठन जति फरक भए पनि यहाँका धेरै उम्मेद्वारहरुको नाममा एउटा साझापन उपस्थित छ, ‘कुमार’ ।
यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नाममा ‘कुमार’ जोडिएकाहरु नै आठजना छन् । ‘कुमारी’ जोडिएकी महिला उम्मेदवार एकजना छन् । यसअघिका सांसद योगेन्द्र मण्डलसहित यहाँको चुनावी प्रतिस्पर्धालाई ‘कुमार’ हरुको महाभिडन्त पनि भन्न सकिन्छ ।
पहिले स्वतन्त्र रुपमा जितेका योगेन्द्र मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार छन् । उनलाई यसपटक अन्य दलका आठजना ‘कुमार’ हरुले चुनौती दिंदैछन् ।
नेकपा एमालेबाट मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी नेपालबाट राजकुमार यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नरेशकुमार लाभ उम्मेदवार छन् ।
स्वतन्त्रतर्फ पनि ‘कुमार’ हरूको उपस्थिति कमजोर छैन । सुजितकुमार साह, राजकुमार राजवंशी र अमरकुमार यादव स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट उम्मेदार बनेकी गंगाकुमारी राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमोद राय, जनमत
पार्टीबाट परमेश्वर मुर्मु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजेन्द्रप्रसाद मण्डल र मंगोल नेशनल अर्गनाइजेसनबाट सकुन्तला श्रेष्ठ उम्मेदवार छन् ।
त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट गंगाप्रसाद गिरी प्रतिस्पर्धामा छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा जयनारायण शर्मा, सूर्यनारायण ठाकुर, ममता यादव, मोहमद रेजा हुसैन र विकाश श्रेष्ठसहित कूल २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १४ जना विभिन्न राजनीतिक दलबाट र आठजना स्वतन्त्र उम्मेदवार हुन् ।
२०७९ को निर्वाचनमा मोरङ ५ मा दुईटा गठबन्धन थिए । एमाले र जसपा मिलेका थिए भने माओवादी, कांग्रेस, एकीकृत समाजवादीको अलग्गै गठबन्धन थियो । तर, ती दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उममेदवार योगेन्द्र मण्डलले जित हात पारेका थिए ।
उनले २१ हजार ८२० मत प्राप्त गरेर जित्दा माओवादीका शिवकुमार मण्डल १७ हजार ४८६ मत पाएर दोस्रो बनेका थिए । जसपा नेपालका राजकुमार यादव १७ हजार ३९० मतसहित तेस्रो भएका थिए ।
तीन वर्षअघिको निर्वाचनमा दुईवटा गठबन्धनलाई सजिलै हराउँदै स्वतन्त्र रुपमा जीतको झण्डा फहराएका योगेन्द्रका लागि यसपटकको निर्वाचन सहज छैन ।
चुनाव जितेपछि त्यो क्षेत्रका लागि ‘संस्थापन’ बनेका उनलाई संस्थापनविरुद्ध बढ्ने जनमत सबैभन्दा ठूलो चुनौती हो । त्यस्तै यसअघिको निर्वाचनमा गरेका अधुरा वाचाहरु उनका लागि अर्को चुनौती बनेर खडा हुने निश्चित छ ।
कांग्रेसबाट उम्मेदवार बनेका फुलकुमार यो क्षेत्रका पुराना कांग्रेस नेता हुन् भने माओवादीका शिवकुमार मण्डल यसअघि यही क्षेत्रबाट जितिसकेका नेता हुन् ।
यसअघि पटकपटक पराजित भएका जसपाका राजकुमारप्रति सहानुभूतिको मत प्रकट हुने सम्भावना पनि उत्तिकै छ ।
यसबाहेक जातीय रुपमा मधेशी बहुल क्षेत्रमा जातीय आधारले पनि मत विभाजित बन्न सक्छ । यसको फाइदा कसले लिन्छ यसै अनुमान गर्न कठिन छ ।
पछिल्लो निर्वाचनको समानुपातिक मतलाई आधार मान्ने हो भने मोरङ ५ मा कांग्रेस सबैभन्दा बलियो शक्ति बनेको देखिन्छ । २०७९ मा यो क्षेत्रमा माओवादीलाई सघाएर आफ्नो उम्मेदवारी नदिएको कांग्रेस समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्न सफल बनेको थियो ।
कांग्रेसले २४ हजार ६२९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, माओवादीले ७ हजार २२३, जनमत पार्टीले ३ हजार ६०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ४२५ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ९०७ मत प्राप्त गरेका थिए ।
यसपटक सबै दलहरुले आ–आफ्ना उम्मेदवार खडा गरेका कारण मोरङ ५ मा रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
मधेशी समुदायको बाहुल्य रहेको मोरङ ५ मा धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्वर वडा र विराटनगर महानगरपालिकाको १३, १४, १५ , १६, १७ र १८ नम्वर वडा समेटिएको छ । यसपटक यो क्षेत्रमा कूल १ लाख १० हजार १७७ मतदाता छन् ।
यसअघि २०७४ मा मोरङ ५ बाट वाम गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए ।
उनले कांग्रेसका प्रतिद्वन्द्वी अमृत अर्याललाई पराजित गर्दै उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पद जितेका थिए । त्यसबेला मण्डलले २२ हजार ९४५ मत पाएका थिए भने अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए ।
View : 283
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved