Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

‘हामी निर्वाचनमा गयौं’ भन्दै देउवासँग विदा मागेर महाधिवेशनस्थलतर्फ हिंडे गगन–विश्व

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किंदै गएको आन्तरिक विवाद सहमतिमा टुंगिन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘अब हामी निर्वाचन प्रक्रियामा गयौं’ भन्दै सभापति शेरबहादुर देउवासँग वार्ताबाट विदा मागेर विशेष महाधिवेशन स्थल फर्किएका छन् । 

बुधबार बिहान देउवा निवास महाराजगन्जमा भएको करिब ४५ मिनेट लामो वार्ता निष्कर्षविहीन बनेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाउने चेतावनीसहित महाधिवेशनस्थल फर्किएका हुन् ।

महामन्त्रीद्वयले सभापति देउवालाई पार्टी सभापतिबाट राजीनामा दिएर संरक्षकको भूमिकामा बस्न स्पष्ट प्रस्ताव राखेको वार्तामा सहभागी एक नेताले बताए । 

‘सभापतिज्यूले असोज २८ गते नै पार्टीको कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको थियो, त्यसलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजानुस् भन्ने कुरा महामन्त्रीहरूले राख्नुभयो’ ती नेताले भने ।

तर महामन्त्रीद्वयको उक्त प्रस्तावमा देउवाले तत्काल कुनै जबाफ नदिएको वार्तामा सहभागी नेताहरूले बताए । देउवाबाट स्पष्ट प्रतिकृया नआएपछि महामन्त्रीद्वयले आफूहरूको धारणा सुनाउँदै ‘हामी अब निर्वाचन प्रक्रियामा अघि बढ्छौं’ भन्ने जानकारी दिएका थिए । 

त्यसक्रममा देउवाले ‘विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ?’ भन्ने प्रश्न महामन्त्रीहरूलाई गरेका थिए । जवाफमा महामन्त्रीद्वयले नेतृत्व परिवर्तनले पार्टी नफुट्ने दाबी गरेका थिए । 

‘नेतृत्व परिवर्तन हामी दुई जनाले गर्ने निर्णय होइन, विशेष महाधिवेशनको हाउसले गर्ने निर्णय हो’ उनीहरूको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हाउसले पार्टीको नेतृत्व परिवर्तन गर्छ, पार्टी फुटाउने होइन ।’

यति जवाफ दिएपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएको ती नेताले जानकारी दिएका छन् । महामन्त्रीद्वयले देउवाको राजीनामालाई आफ्नो ‘बटमलाइन’ बनाएको भए पनि देउवा नेतृत्वको संस्थापन पक्षले यो माग स्वीकार गर्ने अवस्थामा नरहेको जनाइएको छ ।

यसैबीच सभापति देउवाले कानुनले मिल्ने भए प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई टिकट दिंदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका छन् । 

बुधबार बिहानको छलफलमा देउवाले माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधि सभा समानुपातिक निर्वाचनमा आफूले हस्ताक्षर गरेको उदाहरण दिँदै प्रत्यक्षतर्फ अर्कै नेताबाट हस्ताक्षर गराउने व्यवस्था कानुनी रूपमा सम्भव छ कि छैन भन्ने विषयमा अध्ययन गर्न आफू तयार रहेको बताएका हुन् ।

देउवा निकट नेताका अनुसार वैशाखमा तय भएको १५औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेको अवस्थामा अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए । 

‘मैले सार्वजनिक रूपमै अब सभापतिको उम्मेदवार नबन्ने घोषणा गरिसकेको छु’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘विधान अनुसार पनि म सभापति बन्न पाउँदिन, त्यसैले वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औं महाधिवेशनसम्म धैर्य गर्नुस् ।’

देउवाको यो भनाइ सुनेपछि महामन्त्रीद्वयले पार्टीभित्र थप छलफल आवश्यक रहेको भन्दै निवासबाट बाहिरिएको बताइएको छ । करिब ४५ मिनेटको वार्तामा पार्टीभित्र देखिएको विवाद समाधानका उपायबारे छलफल भए पनि सहमति जुट्न सकेन ।

यता भृकुटीमण्डपमा आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय पक्षधरले निर्वाचन प्रक्रियालाई तीव्रता दिएका छन् । निर्वाचन विद्युतीय माध्यमबाट गर्ने तयारी भइरहेको बताइएको छ । तर संस्थापन समूह र डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई अहिलेसम्म मान्यता दिएका छैनन् । उनीहरू महाधिवेशनस्थलमा पनि पुगेका छैनन् ।

केहिबेरमै पार्टी कार्यालय सानेपामा आज विहान ८ बजेका लागि भनेर बोलाइएको केन्द्रीय समिति बैठक बस्न लागेको जनाइएको छ ।

View : 174

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved