विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले दुई दिनयताको बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा जुट्न निर्देशन दिएको छ ।
प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले आइतबार प्रेस विज्ञप्तिमार्फत संकटको समयमा जनतालाई सहयोग गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
‘२०८१ असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको छ’ खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले पार्टीसँग आवद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न र आपतकालीन सेवाहरूमा सहभागी हुन विशेष निर्देशन गर्दछौँ ।’
उनले संकटको सामनाका लागि राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र आमनागरिकलाई समेत एमालेले अपिल गरेको छ ।
दशैंको मुखमा राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरूको पुनर्स्थापना तत्काल गर्न समेत तीनै तहका सरकारलाई ध्यानाकर्षण गराएको छ ।
View : 114
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved