विराटनगर । विराटनगर जुडो डोजोका २५ जना खेलाडीहरूको पहिलो पटक ग्रेडिङ (स्तरीकण) सम्पन्न भएको छ । ग्रेडिङका लागि खेलाडीहरूले शनिबार खेल प्रदर्शन गरेका थिए ।
विराटनगर–१२ स्थित विराट सामुदायिक भवनको हलमा आयोजित ग्रेडिङ कार्यक्रममा खेलाडीहरुलाई आइतबार विराटनगर जुडो डोजोकी प्रशिक्षक चन्द्रकला बस्नेत (सुजता) ले प्रमाणपत्र र बेल्ट हस्तान्तरण गरेकी हुन् ।
बर्षौंदेखि म्याटको अभावमा निकै कष्टपूर्ण अवस्थामा खेल प्रशिक्षण गर्दै आउनु परे पनि यसपटक प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा ५० थान म्याट उपलब्ध भएको प्रशिक्षक बस्नेतले बताइन् । खेलकुद महासंघ कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले डोजोलाई ग्रेडिङ कार्यक्रमकै अवसरमा म्याट हस्तान्तरण गरेका थिए ।
जुडो खेलको विकासका लागि स्थानीय विराट सामुदायिक संस्थाले हल उपलब्ध गराएर ठूलो सहयोग गरेको मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजनकुमार पोखरेलले बताए । त्यसैगरी जुडो खेलका लागि प्रशिक्षक बस्नेतले आफ्नो पहलमा निरन्तर स्वयंसेवकका रुपमा प्रशिक्षण प्रदान गर्दै आएको भन्दै उक्त कार्यको प्रशंसा गरे ।
प्रशिक्षक बस्नेतले विगतमा खुल्ला मैदानमा आफ्नै स्रोत साधनको प्रयोग गरेर जुडो प्रशिक्षण गर्दै आएकी थिइन् । उनले कठिन अवस्थाका वावजुद पनि सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला खुला तौल समूह अन्तरगत विराटनगर डोजोबाट सीमा हमाल ठकुरीले रजत पदक प्राप्त गरेको बताइन् ।
त्यसैगरी सोही डोजोले तेस्रो राष्ट्रिय च्याम्पियनसीपमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै पाँच जना खेलाडीहरुले दोस्रो स्थान प्राप्त गरेका थिए ।
सामुदायिक भवन निर्माण भएपछि त्यहाँका पदाधिकारीहरूको सहयोगमा भवनको हलमा उनले जुडो सिकाउँदै आएकी थिइन् ।
खेलाडी ग्रेडिङ तथा बेल्ट वितरण कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य सन्तोषी श्रेष्ठ, नेकपा एमाले वडा नं. १२ का अध्यक्ष भानुभक्त पाठक, नेपाली कांग्रेस वडा नं. ११ का सभापति रामसुन्दर राजवंशी, वडा नम्बर ११ का वडाकी सदस्य गायत्री थापा, सामूहिक उत्थान संस्थाकी अध्यक्ष कल्याणी खड्गी लगायतको उपस्थिति रहेको जनाइएको छ ।
View : 406
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved