Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट

आदर्श वालिकालाई ७४ रनले हराउँदै सरस्वती स्कुलले उचाल्यो उपाधि

उद्‌घोष संवाददाता
२० फागुन २०८०, आइतवार

विराटनगर । साविक उपविजेता सरस्वती स्कुलले दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

पहिलो संस्करणमा उपविजेतामा चित बुझाएको सरस्वतीले दोस्रो संस्करणमा अपराजित हुँदै उपाधि जितेको हो ।

नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीजको सहयोगमा विराटनगर-६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आदर्श वालिका स्कुललाई ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १४३ रनको विशाल योगफल बनाएको हो । 

प्लेयर अफ द फाइनल घोषित भएकी सरस्वतीकी प्रेरणा पासवानले अर्धशतकको पारी खेल्दै ७२ रनको उत्कृष्ट योगदान गरिन् । त्यस्तै कृतिसा धामीले १७ रन जोडिन् । आर्दश वालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् । 

१४४ रनको लक्ष्यका मैदानमा उत्रिएको आदर्श वालिकाले १५ दशमलव २ बलमा सवै विकेट गुमाई मात्र ६९ रनमा सिमित भयो । 

वालिकाका कुनै पनि ब्याटरले दोहोरो अंक बटुल्न सकेनन्  । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिएर प्रतियोगिताकै प्लेयर अफ द सिरिज बनिन् ।

पूर्णीमा राजवंशी र अञ्जली मण्डलले पनि १–१ विकेटले वालिकालाई धरासायी बनाए ।

उत्कृष्ट ब्याटर आदर्श वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् । 

विजेता टोली तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उप–मेयर शिल्पा निराला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीजका सारा वेग, एड ल्याम्प, टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफि हस्तान्तरण गरे ।

प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक  विद्यालयहरु आदर्श मावि, आर्दश वालिका मावि, महेन्द्र मावि, सरस्वती मावि, सत्यानारयण मावि र मिल्स माविका छात्रा खेलाडीहरुको सहभागीता रहेको थियो ।

विजेता बनेको सरस्वती माविले अब सप्तरी जिल्लाको विजेता टोलीसँग अन्तर जिल्ला प्रतियोगिता खेल्ने जनाइएको छ ।

View : 662

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved