विराटनगर । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ। विभागले मंगलबार विराटनगरमा 'कोशी प्रदेशको सहरी विकासका लागि नीति तथा कार्य योजना' विषयक कार्यशाला गोष्ठी आयोजना गरी अभियान प्रारम्भ गरेको हो।
कार्यक्रममा विभागका सदस्य इञ्जिनियर प्रवीण ढकालले 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' निर्माणका लागि आवश्यक कार्यहरूबारे प्रस्तुति दिए। उनले नयाँ शहरहरूको पहिचान हरियाली सडक, अत्याधुनिक बसपार्क, भवन रेट्रोफिटिङ, बहुतले पार्किङ, खुल्ला क्षेत्र तथा शौचालय निर्माणजस्ता सहरी विकासका प्राथमिकताबारे जानकारी दिए। साथै, फोहोर व्यवस्थापन, जलवायु परिवर्तनको अध्ययन, साना तथा मझौला उद्योगहरूको स्थापना, र व्यवस्थित खानेपानी तथा सरसफाइलाई सहरी विकासका मुख्य आधारका रूपमा प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको खाका एमालेसँग मात्रै रहेको दाबी गरे। उनले प्रदेश सरकारका अधुरा योजनाहरूलाई चाँडै सम्पन्न गरिने र सहरी विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताए।
त्यस्तै एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले प्रदेशको विकासका लागि एमालेसँग आफ्नै मौलिक योजना भएको बताए । शहरी विभागको अभियानले प्रदेशको शहरीकरणको विकासका लागि महत्त्वपूर्ण कार्य हुने उनले विश्वास व्यक्त गरे ।
विभाग प्रमुख लोकेश निरौलाले सहरी विकासका लागि नीतिगत सुधार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्य रहेको स्पष्ट पारे। उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा सहरी विकास अवधारणाबारे सुझाव संकलन गरिने छ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सनका) पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, योजना विज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, र उद्योगी अरुण राठीलगायतले कार्यपत्रमाथि आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता विभाग प्रमुख लोकेश निरौलाले गरेका थिए भने स्वागत मन्तव्य उपप्रमुख सुशीला पहाडीले दिएकी थिइन्। विभागका सचिव सागर थापाले सुझावहरू समेटेर कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने जानकारी दिए। उनले यो अभियानले कोशी प्रदेशभर सहरी विकासमा नयाँ आयाम थप्ने बताए।
View : 224
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved