Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङ व्यापार संघद्वारा शुभकामना आदान–प्रदान

उद्घोष सम्वाददाता
४ कार्तिक २०८०, शनिवार

विराटनगर : मोरङको सवैभन्दा जेठो औद्योगिक व्यवसायिक संस्था मोरङ व्यापार संघले बडादशैं, दिपावली, नेपाल सम्वत्, छठ पर्व–२०८० को अवसरमा बिहीबार शुभकामना आदानफ्रदान कार्यक्रम गरेको छ । 

संघको कार्यालयमा आयोजित कार्यत्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशबासी बीचको एकता अझ बलियो पार्न, साम्प्रदायिक एवं जातीय सद्भाव वृद्धिका लागि यस्ता चाडपर्वहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले उद्योगी व्यवसायीहरुका साथै आफ्नो लागि पनि मोरङ व्यापार संघ प्रतिष्ठित संस्था भएको बताउँदै यस्तो नेतृत्वदायी संस्थाले प्रदेशको आर्थिक क्रियाकलाप एवं सामाजिक कार्यका क्षेत्रमा ठूलो योगदान गर्दै आएको बताए ।

उनले प्रदेशबासीहरुबीचको एकता अझ बलियो बनाएर लैजान सवै क्षेत्रको विकास हुनुपर्ने धारणा राखे । चाडबाडहरुले देशको आर्थिक स्थिति बलियो बनाएर लैजान समेत मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताए । 

प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले बजारमा चिनीको अभाव भइरहेको र महंगी पनि बढिरहेको अवस्थामा जनतालाई सहज रुपमा वस्तु सेवा प्राप्त गर्ने अवस्थाको सिर्जना गर्न उद्योगी व्यवसायीहरु समक्ष आग्रह गरे । 

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, सीएनआई कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, प्रदेश सभा सदस्य अमृत अर्याल, संघका पूर्व अध्यक्ष सुरेशराज शर्मा लगायतले शुभकामना दिएका थिए ।

अध्यक्ष रिजालले अहिले निजी क्षेत्र संकटमा रहेको बताउँदै राज्यले उद्योगी व्यवसायीहरुका कुरा सुनिदिनुपर्ने धारणा राखे । उनले विगतदेखि नै चर्को बैंक ब्याजदर लगायतका बिषयहरुमा सवै उद्योगी व्यवसायी संघसंस्थाहरु आन्दोलनमा उत्रिनु परेको बताएका थिए ।

२००७ सालमा स्थापना भएको मोरङ व्यापार संघले हरेक बर्ष विजया दशमी लगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदानको कार्यक्रम गर्दै आएको जनाइएको छ ।

View : 104

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved