विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–१५ र १७ बाट दुईवटा गाडी नियन्त्रणमा लिएर १८९ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिनुका साथै चारजनालाई पक्राउ गरेको छ ।
भदौ ३१ गते बिहान साढे १० बजेको समय विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ स्थितमा शङ्कास्पद अवस्थामा रहेको बा.८ च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनि लुकाई छिपाई राखेको ४३ किलो गाँजा बरामद गरेको हो ।
उक्त कारको चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार रहेका विराटनगर–१३ का २२ वर्षीय रोजेश परियारलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसैगरी गएराती साढे ८ बजे सोही टोलीले विराटनगर–१७ मण्डा पोखरीबाट शंकास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कारपियो नियन्त्रणमा लिँदा गाडीको पछाडिको भागमा लुकाएको अवस्थामा १४६ किलो गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले उक्त स्कारपियोका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ४५ वर्षीय सुक्षिम राई र गाडीमा रहेका धरान–११ का ४६ वर्षीय देवराज राईलाई समेतलाई पक्राउ गरेको जनाएको छ । उनीहरु माथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 177
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved